
मधेशदृष्टि
रौतहट ।
स्थानीय साहु महाजनसँगै एनआइसी एसिया बैंकबाट करोडौँ रुपैयाँ लिएर उद्योगी विन्देश्वरी साह तेली बेपत्ता भएका छन् ।
स्थानीय कटहरिया नगरपालिका–५ घर भई गणेश चिउरा उद्योगका सञ्चालक साह स्थानीय र बैंकको समेत गरी झण्डै ५ करोड रुपैयाँ लिएर बेपत्ता भएका हुन् । गरुडा–कटहरिया सडकखण्ड अन्तर्गत जलैया चौक नजिकै झण्डै ४ वर्षदेखि चिउरा उद्योग सञ्चान गरेका उनले व्यापारमा घाटा लागेको भन्दै कैयौँ व्यापारीसँग चर्को ब्याजमा करिब दुई करोड रुपैयाँ लिएका थिए ।
३० देखि ४८ प्रतिशत ब्याजमा उद्योगी विन्देश्वरीले कटहरियादेखि गरुडासम्मका १ दर्जन व्यापारीसँग झण्डै दुई करोड रुपैयाँ लिएर उद्योग सञ्चालन गर्दै आएको स्थानीय रामबाबु साह कलवारले बताए । गल्ला व्यापारी कलवारका अनुसार लामो समयदेखि उद्योगी साहले पटकपटक उधारोमा धान खरिद गरी लैजाने र भुक्तानी दिने गरेका थिए । यसैक्रममा चिउरा उद्योगमा ठूलो लगानी गर्नुपर्ने भन्दै आफूसँग ब्याज तिर्नेगरी केही महिनाअघि ८ लाख रुपैयाँ लगेको र समय समयमा ब्याज बुझाउँदै आएको उनले बताए ।
देशमा विद्यमान आर्थिक तरलतासँगै उद्योगी विन्देश्वरीको व्यापार कम भएको अनुमान गरेर पछिल्लो समय अन्य व्यापारीले उनलाई ठूलो कर्जा दिन मानेका थिएनन् । वैशाख १३ गते एनआइसी एसिया बैंक गौरले गणेश चिउरा उद्योगलाई एकैपटक ३ करोड रुपैयाँ लगानी गरेको व्यापारी कलवारले बताए ।
बजारमा चर्चा चलेपछि लगानीकर्ताले खोजतलास गर्दा उद्योगी सपरिवार बेपत्ता भएको पाइएको हो । एकसाता अघिसम्म उद्योगी सपरिवार भारत बागेश्वर तीर्थधाम गएको चर्चा चलेको थियो । तर लगानीकर्ताले चौतर्फी खोजतलास गर्दा उनको कुनै सुराक नपाइएको हो ।
बिहीवार व्यापारी कलवार विन्देश्वरीको ससुराली बारा पिपरपाती जाँदा त्यहाँ एनआइसी एसिया बैंक गौरका कर्मचारीसमेत पुगेको तर कुनै सुराक नलागेको बताए । एनआइसी एसिया बैंकसहित व्यापारीलाई ऋण दिने अन्य बैकहरु पनि व्यापारीकाे खाेजीमा जुटेका छन् । एनआइसी बैंक गाैर शाखाका कर्मचारी ऋण दिएलगत्तै व्यापारी भागेपछि थप तनावमा छन् । समाचार बाहिरिएपछि झन समस्यामा परेका छन् ।






