हरेक महिना अन्तिम शुक्रबार र शनिबार रात्रीबजार लाग्ने

रात्रीबजारले निरन्तरता पाउँदै

[mashshare]

मधेशदृष्टि
वीरगंज, १९ वैशाख ।

वीरगंजको अर्थतन्त्र चलायमान बनाउन नयाँ वर्षदेखि सुरु गरिएको रात्रीबजारले निरन्तरता पाउने भएको छ । हरेक महिना अन्तिम शुक्रबार र शनिबार रात्रीबजार लगाउने गरी सबै तयारी गरिएको हो ।

नयाँ वर्षका अवसरमा गएको चैत ३० र वैशाख १, २ गते लगाइएको रात्रीबजार अबदेखि हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो । जसअनुरुप वैशाखको २९ र ३० गते रात्रीबजार लागाइने तयारी गरिएको छ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा आइतबार सांझ बसेको रात्रीबजार व्यवस्थापन समितिको बैठकले रात्रीबजारलाई अझै विस्तार गर्दै लैजाने निर्णय गरेको हो ।

यसपटक रात्रबजार माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म विस्तार गरेर लगाउने निर्णय बैठकले गरेको छ । बैठकमा नगर प्रमुख सिंहले वीरगंजको व्यापार व्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रीबजारलाई निरन्तर रुपमा अघि बढाउने प्रयास गरिएको बताए । महानगरले बजार चलायमान बनाउन पहल गरिदिएको भन्दै महानगरप्रमुख सिंहले रात्रीबजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर आउनु पर्नेमा जोड दिए ।

वीरगंज उद्योग वाणिज्य संघले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्दै उनले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताए । उनले रात्रीबजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकाले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे ।

बैठकमा संघका अध्यक्ष अनिल पटवारीले रात्रीबजार सञ्चालनका लागि आवश्यक सहयोग गर्न संघ तयार रहेको बताए । बैठकले अहिले सटरमा सञ्चालन गरिरहेको व्यवसायलाई अबेर रातिसम्म सञ्चालन गराउन आग्रह गर्ने निर्णय गर्नुका साथै रात्रीबजारका दिन आवश्यक स्टलको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेपाली युवा उद्यमी मञ्च वीरगंजका आंशु कुमार सर्राफले रात्रीबजारका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैठकले नयाँ वर्षमा आदर्शनगरस्थित पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि सडक पेटीमै राखेर बजार सञ्चालन गरिने निर्णय गरेको छ ।

माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म लाग्ने रात्रीबजारमा विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिने रात्रीबजार व्यवस्थापन समितिका सदस्य समेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । बैठकमा ग्रिनसिटी सामुदायिकका सञ्जय अग्रवाल, विकाश ठाकुर, अनुप अग्रवाल, सुरेश कुमार रुंगटा, छवि सर्राफ, अफसाना खान, सपना अग्रवाल, सुनिल कुमार कादमियाँ लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button