क्रिकेटका लागि एक मात्र त्रिवि क्रिकेट मैदान, फुटबलका लागि एक मात्र दशरथ रंगशाला, भलिबलका लागि त्यहीँ राखेपको भलिबल कोर्ट बाहेको केही पूर्वाधार नहुनु यो देशका लागि दुर्भाग्य र खेलप्रमीका लागि दुःखको कुरा हो । आजको खेलकुदको पूर्वाधार, मानसिकता, ढाँचा, जनशक्ति र बुझाईको स्तरबाट नेपालको खेलकुदको विकास सम्भव छैन । देश संघीयतामा गइसकेको अवस्थामा सात वटै प्रदेशमा खेलका पूर्वाधार हुन जरुरी छ । सुधार नीति र ऐनको प्रस्तावनाबाटै सुधार गर्न जरुरी छ, हैन भने गन्तब्य सहज छैन । हामीले विकेन्द्रिकरणको नाममा मान्दै आएको संघीयता र एउटा फगत राजनीतिक पद्धती मात्र हो, त्यसैलाई नेपाली खेलकुदको परिवर्तन बुझ्न गलत हुन्छ । आधुनिक खेलकुदको विषयलाई बुझ्नु र अघि बढाउनु आजको आवश्यकता हो । पर्सा जिल्ला, खेलकुदका लागि एउटा ऐतिहासिक भूमि हो । क्रिकेट, फुटबलको क्षेत्रका वीरगंजले राष्ट्रिय स्तरमा अफ्नो योग्दान दिएका छन् । काठमाडौँको दशरथ रंगशाला पछि वीरगंजको नारायणी रंगशाला देशकै ठूलो रंगशालाको रुपमा परिचित थियो । तर आज त्यसको अवस्था के छ सबैले बुझेका छन् । त्यसको पुनःसंरचना र निर्माणमा सरकारले कुनै चासो दिएको छैन, बजेट विनियोजन गरेको छैन् । देश र वीरगंजको क्रिकेटको अवस्था, कानुन निर्माण र भौतिक पूर्वाधारको बारेमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश:
केही दिन अगाडि यहाँ काठमाडौँमा क्रिकेटका उच्च अधिकारीहरुसँग भेट गर्नु भयो, मुख्य रुपमा के कुरामा ध्यानाकर्षण गराउनु भयो ?
– क्रिकेट ले जे पनि उपलब्धी प्राप्त गरेको छ त्यो खेलाडीहरुकै मेहनतले पाएको हो । अझै पनि अन्तर्राष्ट्रिय रुपमा स्थापित हुनलाई हामीसँग पूर्वधार र खेलका विभिन्न सेवा सुविधाहरुको आवश्यक छ । हाम्रो अहिलेका प्रधानमन्त्रीले भन्ने गर्नु हुन्छ कि खेलका पूर्वाधारका लागि हाम्रो सातै प्रदेशमा एउटा राम्रो राष्ट्रिय स्तरको खेलकुद मैदान चाहिन्छ, सबै हुन्छ । तर, कार्यान्वयन हुन सकेको छैन् । यहीँ सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद(राखेप)ले पर्सा क्रिकेट संघलाई लगभग ५ विगाहा (४ विघा १८ कठ्ठा) जग्गा हाम्रो नारायणी स्टेडियमको छेउवा दिएको छ । सबै त्यसलाई सम्वद्धन र संरक्षण गर्न भनेको छ । त्यो जग्गामा हामीले खेलकुदको पूर्वाधार बनायौं भने मधेश प्रदेश मै मलाई लाग्छ एउटा ठूलो रंगशाला हुनसक्छ ।
हाम्रो वीरगंजले यहाँ ठूलो ठूलो प्रतियोगिता गरिसकेको छ । यहाँबाट राष्ट्रिय स्तरको खेलाडी दिएको छ । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरु यहाँ आएर खेलेका छन् । तर, अब यहाँ पूर्वाधार र सेवा सुविधाको भरमा हामी धेरै माथि पुग्न सक्दैनौं । यहीँ सन्दर्भमा मैले क्रिकेटका विभिन्न पदाधिकारी र खेलकुद मन्त्री ज्यूलाई भेटेर यो अवस्थाको बारेमा अवगत गराएको छु । खासगरी हाम्रो जुन जग्गा छ, त्यहाँ २–४ कठ्ठा केही व्यक्तिको निजी जग्गा पनि परेको छ । त्यहाँ उहाँहरु आफ्नो जग्गा उपभोग गर्न सक्नु भएको छैन । हामीले त्यहीँ कारणले आफ्नो जग्गाको संरक्षण र सम्वद्धन गर्न सकेका छौनौं । अब ११ औं राष्ट्रिय खेलकुद पनि मधेश प्रदेशमै हुने कुरा छ । यसलाई कसरी गर्ने, कसरी अगाडी जाने भन्ने कुरा छ । यसै सम्बन्धमा मैले मन्त्री ज्युलाई भेटेको हो ।
यो भन्दा अगाडि नारायणी रंगशालाको विभिन्न समयमा पटक पटक मन्त्रीहरु र उच्च पदाधिकारीहरुले अनुगमन र निरीक्षण गर्नु भयो, प्रतिबद्धता गर्नु हुन्छ । तर, प्रतिबद्धता अनुसार काम कुरा अगाडि बढाउँदा त्यो पदमा फेरी अर्को व्यक्ति पुगिसकेको हुन्छ, यो तरिकाले खेलकुदको विकास सम्भव छ ?
– आश्चर्य लाग्ने कुरा के छ भने, नारायणी रंगशाला जस्तो गौरवपूर्ण इतिहास बोकेको ठाउँको लागि कुनै कति बजेट छुट्याइएको छैन भन्दा दुःख लाग्छ । अर्को कुरा यहाँबाट निर्वाचित हुनु भएका नेताहरु, सांसदहरुले पनि यो विषयमा धेरै चासो राखेको पाइन् । उहाँहरु यहाँको अगुवा हो । उहाँहरुले यहाँको हरेका क्षेत्रको बारेमा चासो दिनुहुन्छ, काम गर्नु हुन्छ । उहाँहरु खेलमा मात्र ध्यान दिउँन पनि हामी भन्न चाहनौं, खेल क्षेत्र छ, शिक्षा छ, स्वास्थ्य छ, जनजिविकाको सवाल छ । उहाँहरुले त्यो सबै हेर्नु पर्ने हुन्छ । तर, हामी जस्तो व्यक्ति जो खेल क्षेत्रको कुनै संघ संस्थामा आवद्ध छौं, हाम्रो कर्तव्य हो कि हामी उहाँहरुलाई यो क्षेत्रको विकासका लागि झक्झक्याऔं ।
यहाँको खेलकुदको विकास, भौतिक पूर्वाधारको निर्माणमा जोड दिऔं । यस्तो गौरवपूर्व इतिहास बोकेको नारायणी रंगशालाको बारेमा हामीले मन्त्री ज्युसँग कुरा गर्दा, उहाँलाई हामीले भन्यौं कि रंगशालाका लागि एक रुपैयाँ पनि बजेट विनियोजन गरिएको छैन । सुरुमा उहाँ एकदमै निरास हुनु भयो । तर, हामीले त्यहाँ के सुन्यौं भने, यो विषय, यो सन्दर्भमा कुरा गर्न म कुनै आधिकारिक व्यक्ति त होइन तर मैले के सुने भने, नारायणी रंगशालाको निर्माणको जिम्मा कतार सरकारले लिने कुरा छ । त्यसको वृहत् डीपीआर बनिसकेको छ । यदी त्यो हिसाबले बन्यो भने, नाराणयी रंगशाला नेपालको एउटा राम्रो र अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्न सक्छ । ग्राउण्डसँगै त्यहाँ विभिन्न अभ्यासका पूर्वाधार बनाउन सकियो भने एउटा नमूना रंगशाला बन्छ ।
यस सन्दर्भमा मन्त्री ज्युसँग कुरा गर्दा उहाँले फाइलहरु मगाएर हेर्नुभयो । कतार सरकारसँगको त्यो कुरा हाम्रो परराष्ट्र मन्त्रालयसम्म पुगिसकेको छ । हामीले त्यो कुरामा अग्रसरता देखाएर दुई देशबीच यो विषयमा समझदारी र सम्झौता भयो भने यो हाम्रो लागि ठूलो उपलब्धी हुनेछ । मैले सुने अनुसार कतार सरकारले यो रंगशालालाई दुई वर्षमा निर्माण गरेर हामीलाई जिम्मा लगाउँछ । अब के छ भने यो विषयमा हाम्रो ठाउँबाट जित्नु भएका नेताहरु, हाम्रा प्रतिनिधिहरुले आफ्नो ठाउँबाट यो कुरा उठाइदिनु भयो भने यो समस्यालाई हामीले टुङग्याउन सक्छौं, जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न सक्थ्यौं । र, मलाई लाग्छ यसको जस् पनि उहाँहरुले नै पाउनु हुनेछ । वीरगंज मात्र होइन्, काठमाडौँ, पोखरा, धनगढी, चितवन लगायत जहाँ जहाँ क्रिकेट रंगशालाको कुरा छ, यस बारेमा खेलप्रेमी, नागरिक समाजले कुरा उठायौं भने अतिकति सरकारलाई दबाब पुग्थ्यो र यसले कुनै निष्कर्ष लिन्थ्यो भन्ने लाग्छ ।
भने पछि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुले एकपटक निर्णायक धक्का दिन आवश्यक छ ?
– पक्कै पनि सम्पूणै सरोकारवाला व्यक्ति, खेलप्रेमी, नागरिक समाज, अगुवाहरुले संयुक्त रुपमा मिलेर सरकारलाई झ्क्झ्क्याउन सक्यौं, निर्णायक धक्का दिन सक्यौं भने मलाई लाग्छ, निकट भविष्य मै हामीले खुसीको कुरा सुन्न पाउँछौँ ।
तपाईले नेपालको क्रिकेटको अवस्था र भविष्यलाई कसरी हेर्नु भएको छ ?
– मलाई लाग्छ नेपालको क्रिकेट अवस्था अहिले जुन छ त्यो आफ्नो मिहिनेत र क्षमताले एउटा स्थान प्राप्त गरेको छ । नेपालले क्रिकेटमा प्राप्त गरेको उपलब्धीले म सन्तुष्ट छु । अहिले बुद्ध, एभरेस्ट पछि विश्वसामु नेपाललाई चिनाउने भनेको क्रिकेटले नै हो । नेपालको साधन स्रोत, पूर्वाधारको उपलब्धताको आधारमा नेपाली क्रिकेट खेलाडीहरुले जनु प्रदर्शन देखाएका छन्, विश्वले नेपालको खेललाई नजिकबाट नियालिरहेका छन् ।
नेपालले अन्तर्राष्ट्रिय रुपमा आफ्नो स्तरलाई देखाएको छ । मलाई लाग्छ अब नेपालको क्रिकेटलाई व्यवसायीकरण गर्न आवश्यक छ । यसलाई एउटा करियरको रुपमा पनि अगाडि बढाउन सकिन्छ । पहिले पहिले क्रिकेट खेल्दा घरबाट सपोर्ट हुँदैन्थ्यौं, तर अहिले २०–२५ जना नेपाली क्रिकेट खेलाडीले मासिक करिब एक लाखको हाराहारीमा पारिश्रमिक पाइराख्नु भएको छ । ३०–३५ जना खेलाडीहरु राष्ट्रिय कन्ट्रयाक्टमा हुनुहुन्छ । महिला क्रिकेट खेलाडीहरुले पनि मासिक २५ देखि ७५ हजार मासिक कमाइराख्नु भएको छ । उहाँहरुले आफूलाई देश विदेशमा चिनाइसक्नु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न लिगहरुमा उहाँहरु खेलिराख्नु भएको छ । मलाई लाग्छ अबको एक दशक नेपाली क्रिकेटको लागि यो स्वर्णिम काल हुनेछ ।
यहाँ पर्सा क्रिकेट संघको अध्यक्ष हुनुहुन्छ । जिल्लामा विभिन्न निकायसँगको सहकार्यता कस्तो छ ?
– यो सन्दर्भमा त के छ भने अहिले स्थानीय निकायहरु आर्थिक हिसाबले त त्यति छैन तर बाँकी काममा उहाँहरुको सहयोग रहेको छ । उहाँहरुले लजिङ, फुडिङमा सहयोग गर्नु भएको छ । स्थानीय तहले क्रिकेटलगायत खेलकुदमा उहाँहरुले खासै लगानी गर्न इच्छिुक देखिनु भएको छैन । हामीले जिल्ला, विद्यालयस्तरको विभिन्न खेलकुद कार्यक्रम गरिरहेका छौं । यो क्षेत्रमा अझै पनि लगानीको आवश्यकता छ ।
विद्यालय तथा जिल्लास्तरबाट राष्ट्रिय स्तरमा खेलाडीलाई पुर्याउन तपाईहरुले के गरिरहनु भएको छ ?
– हामीले समय समयमा जिल्लास्तरमा विभिन्न टाइल्याण्ट हन्ट गरिरहेका हुन्छौं । त्यहाँबाट हामीले उच्च क्षमता प्रदर्शन गरेकालाई अगाडी बढाउँन सहयोग गरिरहेका छौँ । हरेक विद्यार्थीमा फरक क्षमता हुन्छ । त्यसको पहिचान गरेर हामीले सहि परामर्श, सहयोग गरिरहेका हुन्छौँ ।
खेल क्षेत्रको नियम कानुन निर्माण, यसलाई व्यवसायीकरण कसरी गर्न सकिन्छ ?
– अहिले सम्म क्रिकेट बाहेक अरु कुनै खेलबाट करियर बनाउन सकिन्छ भन्ने देखिएको छैन । क्रिकेटका ५०–६० जनाले पैसा कमाइरहेका होलान्, फुटबल नेपालमा लोकप्रिय भएपनि त्यो अझै पनि व्यवसायीकण भइसकेको छैन । बाँकी खेलहरुको अवस्था यस्तो छ कि यसबाट हामीले करियर देख्न सक्दैनौं ।
अब नेपाल प्रिमियर लिगको क्रिकेट एसोसियन अफ नेपाल (क्यान) ले गर्ने घोषणा भएको छ । मंसिरको दोस्रो हप्ता देखि सुरु हुँदैछ । लिगमा विभिन्न टिमहरु छन् । टिमको व्यवस्थापन, प्रशिक्षण, पारिश्रमिकलगायतका कुराहरु छन् । सेवासुविधाका कुराहरु छन् । ती सबै टिमका मालिकले हेर्नु हुन्छ । त्यसको व्यवस्थापन गर्नुहुन्छ । उहाँहरुले यसलाई च्यारिटीको रुपमा लिनुभएको छैन, यसको व्यवसायीकरणको कुरा छ । योबाट खेलको चौतर्फी विकासका साथै लगानीकर्तालाई आर्थिक लाभ पनि हुन्छ । यस्तो खालको लिग क्रिकेट, फुटबल, भलिबल जस्ता सम्भावना बोकेका खेलमा पनि हुनुपर्छ, त्यसलाई व्यवसायीकरण गर्नुपर्छ । जो कर्पोरेट सेक्टर यो क्षेत्रमा सहयोग गर्न र जोडिन आइरहेका छन् उनीहरुलाई प्रोत्साहन गर्न जरुरी छ । सरकारले यस तर्फ ध्यान दिनु पर्छ ।
००००