२३ किलो सुनतस्करीको मुद्दा, १० लाखमा भारतीयलाई उन्मुक्ति ?

[mashshare]

मधेशदृष्टि
बारा ।

व्यवस्थामाथि नै धावा बोल्दै शासकहरु भाग्नु पर्ने गरी आन्दोलन भएको दोस्रो सातामा देश दौडिरहेको छ । पूर्वप्रधानन्यायाधीश नै प्रधानमन्त्री भएको दशौँ दिनमा यो समाचार तयार पारिएको हो । जेन्जी पुस्ताले सुशासनयुक्त मुलुकको कामना गर्दै शासकहरुलाई भाग्ने बनाए, कैयौँ दिन शहरमा देखिन नसक्ने बनाए । दुई ठूला दलहरुको बहुमतको सरकार पनि लखेटिएको मुलुकमा अब सुशासन छाउने र बदमासहरुले मुक्ति नपाउने कल्पना गर्न थालिएको छ ।

तर व्यवहारमा भने त्यस्तो छैन । ‘नानीदेखि लागेको बानी’ भने झैँ बारामा गजबको मुद्दा आदेशले अहिले मधेश तातिएको छ । विस्तारै यो मुद्दाले देश तातिनेवाला छ र छिमेकी देशसमेत तातिन बेर छैन । सक्नेले जति अपराध गरे पनि पहुँच बनाउनेले माफ पाउँछन् भन्ने मोहम्मद अफताब आलमको फैसलाजस्तै अर्को विवादास्पद उदाहरणको आदेशले बारा–पर्सा तातिएको हो ।

प्रसंग बारा जिल्ला अदालतको हो । आइतबार इजलाश थियो न्यायाधीश भोलानाथ ढकालको । इजलाशमा रहेका ९ वटा मुद्दामध्ये पहिलो, दोस्रो र तेस्रो मुद्दा थियो एउटै व्यक्तिको अर्थात् प्रतिवादी थिए भारतीय नागरिक अशोक कुमार सिन्हा र छोरी निवेदिका सिन्हाको । पहिलो मुद्दा थियोः राजस्व चुहावट । दोस्रो र तेस्रो मुद्दा थियोः सम्पत्ति शुद्धिकरण । दशैँ बिदा परेकाले अब अदालत बन्द हुने तरखरमा थियो । तर ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने झैँ बारा अदालतमा भइदियो यस्तै । २३ किलो सुनको मुद्दामा आरोपी अदालतमा हाजिर भए भएनन्, छानिबनको दायरामा आए दूधको दूध पानीको पानी हुनेछ । आरोपी नै आए या आरोपी बनेर अरु नै आए ! नेपालको कानूनले नेपाली नागरिकबाहेक अरुलाई धरौटी तोक्न मिल्दैन र पुर्पक्षमा पठाउनु पर्छ भन्ने मान्यता र नजिरबारे भोला श्रीमान ‘जानकार नहुनु भएको’ पनि कहाँ होला र ? तर पर्सा अदालतबाट बारामा ‘पुग्नु भएका’ उनै श्रीमानले ताजुबको आदेश दिएर १० लाख रुपैयाँमा भारतीय नागरिकलाई धरौटीमा छाड्ने विषय सामान्य हुनसक्छ र ? कि भोला श्रीमानलाई जेन्जी आन्दोलनबारे थाहै भएन ?

के हो घटना ?
२०७७ कात्तिक १ गते शनिबार नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले बरामद गरेको थियो । भारतीय नागरिक बस्दै आएको वीरगंज महानगरपालिका–५ रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । तर, तस्करीमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेन । बरामद सुनको त्यतिखेरको मूल्य १८ करोड रुपैयाँ ६५ लाख रुपैयाँ भन्दा बढी थियो ।

सुन बरामद भएको फ्ल्याट भारत रक्सौल पूर्वीचम्पारणका अशोक कुमार सिन्हाको हो । त्यतिखेर पर्सामा प्रहरी प्रमुख (एसपी) थिइन् गंगा पन्त । अनुसन्धानमा सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको पाइएको थियो । दराजभित्र राखिएको अवस्थामा सुन बरामद भएको थियो । सिन्हाले लामो समयदेखि नेपालबाट भारतमा सुन तस्करी गर्दै आएको अनुमान छ । उनी भारत, बिहारका भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ हुन् ।

कति थियो सुन ?
बरामद भएको सुन एक किलोको १३ वटा टुक्रा थियो । मझौला आकारको ४६ वटा टुक्रा थियो । एक सय ग्रामको १० वटा टुक्रा तथा ६ सय ८१ ग्रामको सुनका गहना थिए । चाँदीको गरगहना तथा थाललगायतका भाँडाकुँडा दुई किलो दुई सय ६२ ग्राम बरामद भएको थियो । पर्सा प्रहरीको इतिहासमै २३ किलो सुन पहिलोपटक बरामद भएको हो । कोरोना महामारी रहेकाले नेपाल सरकारले कात्तिक मसान्तसम्मका लागि सीमानाका सिल गर्दा सुन पार हुन नसकेको अनुमान थियो ।

कानून फेरिँदाको फाइदा
२०८२ साउन २३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलाशले यो मुद्दालाई सम्बन्धित जिल्लामा पठाउने निर्णय गर्यो । राजस्व चुहावटको मुद्दा सम्बन्धित जिल्लामा पठाउने भनिएपछि जिल्ला अदालत बारामा यो मुद्दा सरेर आयो । न्यायाधीश हरिप्रसाद जोशी र दुर्गाबहादुर विकको इजलाशले यो मुद्दा बारा जिल्ला अदालतमा पठाएको हो । यही फाइदालाई पच्छ्याएर आइतबार अदालतमा नक्कली भारतीय नागरिक बनेर गएर धरौटीमा छुटेको विषयले अहिले बारा पर्सा तातिएको छ ।

के के भयो ?
भारत, रक्सौलका हुन् अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका । निवेदिकाले २०६३ मा नेपाली नागरिकता बनाएको पाइएको छ । यो घटनामा रक्सौलकै रिपु सदन कुमार पनि जोडिएका हुन् । उनीहरुले अशोकका नाममा वीरगंजमा फ्लाट लिएका हुन् । अशोक र निवेदिकाको मात्र कागजात भेटिएकाले मुद्दामा रिपु नजोडिएका हुन् ।

यस्तो मुद्दामा तीन गुणा दाबी गरिन्छ र अशोक सिन्हालाई ३६ करोड रुपैयाँ र छोरी निवेदिकालाई १९ करोड रुपैयाँ असुलसहितको मुद्दा दायर भएको थियो । निवेदिकाका नाममा वंशजको नागरिकता पाइएपछि सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलेको थियो । उनीहरुको खातामा २ करोड ५० लाख रुपैयाँ पाइएपछि अकुत सम्पत्तिको पनि मुद्दा चलेको थियो । खाता रोक्का गरिएको छ ।

रिपुको चलखेल
दशैँको बिदा हुनै लाग्दा अदालतमा हुने पातलो आवागमनको फाइदा उठाउँदै आइतबार सेटिङमै नक्कली अशोक सिन्हा बनाएर अदालत लगेर बाबु–छोरीलाई नै १०–१० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गुपचुप राखिएको छ । अदालतमा अशोक सिन्हा आएको खबर पाएर पुगेको प्रहरी रित्तो हात फर्किएको छ । २३ किलो सुन ल्याउने समात्न नसकेको भनेर आलोचना खेपेको प्रहरीलाई पनि अदालतको कारबाहीले असहयोग भएको छ । यो सबै घटनामा रक्सौलका रिपु कुमारले सेटिङ मिलाएको र यसका लागि उनले २ करोड भारतीय रुपैयाँ खर्च गरेको बताइएको छ । एउटा नयाँ गाडीसमेत यो मामलामा किनमेल भएको बताइएको छ । अशोक सिन्हा वयोवृद्ध भएकाले उनी अदालत आएर यति चाँडै कसरी फरार भए ? प्रहरीलाई खबर हुनुपथ्र्यो कि पर्थेन ? विदेशीलाई धरौटी नहुने कानूनको धज्जी किन उडाइयो ? राष्ट्रिय चर्चा बनेको २३ किलो सुनको मुद्दामा जम्मा १० लाख रुपैयाँ धरौटी ? के देशमा जस्तोसुकै आन्दोलन भए पछि यस्ता राजस्वमारा र तस्करहरुलाई उन्मुक्ति दिनेहरुलाई छुटकारा भइरहने हो ? यस्तै यस्तै प्रश्नहरु अहिले वीरगंज र कलैयामा उत्तर खोजिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button