
सिरहा ।
पूर्व–पश्चिम राजमार्गको निर्माणमा भइरहेको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलन गरेका छन्। मिर्चैया बजारका स्थानीय बासिन्दा र व्यापारीहरूले आज बिहान १० बजेबाट राजमार्ग अवरुद्ध गरेका हुन्।
स्थानीय व्यापारीहरूका अनुसार राजमार्ग निर्माणको ढिलाइले सडकको अवस्था झन् बिग्रँदा यात्रा जोखिमपूर्ण बनेको छ। सडकमा समयमै पानी नछर्कने र धुलो नियन्त्रणका उपाय नअपनाउँदा स्थानीयवासीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ।
गतवर्ष माघ २२ मा पनि मिर्चैयाका स्थानीयले राजमार्ग निर्माण कार्यमा भइरहेको ढिलासुस्तीको विरोधमा आन्दोलन गरेका थिए। तर, कामले गति नलिँदा उनीहरूले पुनः आन्दोलन थाल्नुपरेको छ।
आन्दोलनका कारण सयौँ सवारी साधन अलपत्र परेका छन्। स्थानीय प्रहरीले राजमार्ग खुलाउन प्रयास गरिरहेको छ भने सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर चार लेन राजमार्ग निर्माणको जिम्मा चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपलाई दिइएको थियो। तर, उक्त समूहले समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गरिए पनि कामले अपेक्षाकृत प्रगति गरेको छैन।
स्थानीयवासीले निर्माण कम्पनीको लापरबाहीप्रति गुनासो गर्दै समयमै काम सम्पन्न गरी राजमार्गको अवस्था सुधार गर्न माग गरेका छन्।
धुलो र खराब सडकको असरले यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। स्थानीय व्यापारी र बासिन्दाले समस्या समाधानका लागि निर्माण कार्यलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई दबाब दिनका लागि आन्दोलन सुरु गरेका हुन्।
स्थानीयको भनाइ छ, “सडक निर्माणमा लापरबाही र ढिलासुस्तीले स्वास्थ्य र दैनिक जीवनमा ठूलो असर परेको छ। अब काम समयमा सम्पन्न गराउन ठोस कदम चाल्न आवश्यक छ।”
सरकार र निर्माण कम्पनीले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे पनि स्थानीय बासिन्दा र व्यापारीहरूको असन्तोष अझै कायमै छ।






