
मधेशदृष्टि
रौतहट ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजनीति, सामाजिक तथा आर्थिक क्षेत्रमा नेतृत्व लिन युवा पंक्तिलाई आह्वान गर्नु भएको छ ।
न्यु दियालो युवा क्लबले रौतहटले सदरमुकाम गौरमा गरेको रौतहट युवा संवाद २०८१ मा मुख्यमन्त्री सिंहले भविष्यको पिएम, सिएम, मिनिस्टर, सांसद र विधायक सबै तपाईं युवाहरु नै हो भन्दै ड्रग्सलगायत नशालु पदार्थ सेवन गरी भविष्य र जवानी अन्धकारतर्फ धकेलिरहेका युवालाई जोगाउन शिक्षित युवालाई अग्रसरता देखाउन आग्रह गरे ।
उनले कुलतमा फसेका युवालाई जोगाउन मधेश सरकार तयार रहेको बताए । युवाको उपस्थितिलाई हौसला बढाउन प्रदेश सरकार लोकसेवा आयोगलाई कृयाशील बनाइएको, प्रदेशमा रोजगारी सृजनाका लागि विभिन्न रचनात्मक कार्य गर्न लागेको, रोजगारी वृद्विका लागि हरेक पालिकामा कृषि बजार, मधेशका सबै जिल्लामा मोर्डरन स्कुल स्थापना, फिल्म सिटी, एजुकेसन पार्क बनाउनेलगायतका कार्य गर्न लागिएको मुख्यमन्त्री सिंहले बताए ।
एस टुगेर यु क्यानका सचिव ओमनाथ ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा ममता झा , आदर्श सहनी ,आदित्य मिश्र , मोसिमा खातुन सहितले युवाको लागि गर्नु पर्ने विकास तथा सहयोगको बारेमा प्रकाश पारेका थिए ।






