भ्रष्ट, लुट र कमिसनको विकासः यादव

[mashshare]

‘ठूला दलविरुद्ध बोल्नेहरुलाई तह लगाउने हिसाबले समानुपातिक प्रणाली हटाउने योजना चलिरहेको छ, तीन दलको स्वार्थका कारण मुलुकमा अस्थिरता छ तर आरोप साना दलमाथि लगाइँदै छ ।’

वीरेन्द्र रमण
जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा भ्रष्टतन्त्र, कमिसनतन्त्र र लुटतन्त्र विकास भएको आरोप लगाएका छन् । उनले देशमा यस्ता किसिमका गतिविधि तलदेखि माथिसम्म बढेको बताउँदै लुटतन्त्रमा आफ्नो पार्टीका समेत केही व्यक्ति लोभमा फसेर गएको बताए । उनले अहिले उनीहरुको ‘हरि बिजोग’ भएको बताए ।

यादवले मुलुकको शिक्षा अवस्था ध्वस्त हुँदै गएको बताउँदै खर्बौँ रुपैयाँ शिक्षाका नाममा विदेश जाने गरेको जिकिर गरे । उनले नेपालको शिक्षाले विदेशमा रोजगारी पाउने अवस्था नरहेका कारण शिक्षा अवस्था ध्वस्त हुँदै विद्यार्थीसमेत विदेश पलायन हुने अवस्था रहेको बताए । जनता समाजवादी पार्टीले गरेको अभिमुखी कार्यक्रममा अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्टको राजमा शिक्षा ध्वस्त भएको बताउँदै यो क्रम अहिले पनि नरोकिएको बताए ।

अध्यक्ष आदवले भने, ‘विकासको आधार शिक्षा र कृषि हो, दुवै ध्वस्त भइसकेको छ, शिक्षा निजीकरण गरेर केही व्यापारीका हातमा पुगेको र किसानले समयमा सिँचाइ र मलको समस्याका कारण कृषिक्षेत्रबाट पलायन हुनु परेको छ ।’ उनले कृषिक्षेत्रसमेत ध्वस्त भइसकेको र सरकारले ३० वर्षमा विकासको आधार भत्काएको बताए । उनले विकासका आधारलाई भत्काउने सरकारसँग जनताले धेरै अपेक्षा गर्नु बेकार रहेको बताए । उनले कृषि ध्वस्त भएपछि युवा रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यता रहेको बताए । यादवले भने, ‘यो क्षेत्र सबै भन्दा बढी उब्जाउ भूमि हुँदासमेत राज्यको ध्यान नगएका कारण समस्या भएको छ ।’

यादवले सरकारी उद्योग निजीकरणका नाममा ध्वस्त भएको बताउँदै यसतर्फ सरकारको समेत ध्यान नगएको बरु सरकारले नियोजितरुपमा ध्वस्त बनाएको आरोप लगाए । अध्यक्ष यादवले मेचीदेखि महाकालीसम्मको मधेश रहेको बताउदै आठ जिल्लाको मधेश लडेर लिए पनि मेचीदेखि महाकालीसम्मको मधेशको मुक्ति बाँकी नै रहेको बताए । उनले यसका लागि संघर्ष आवश्यक रहेको बताउँदै यो संघर्षको नेतृत्व आफ्नै पार्टीले गर्ने बताए ।

अध्यक्ष यादवले मधेशले प्राप्त गरेको उपलब्धी मात्र नभई देश नै संकटमा फस्ने खतरासमेत रहेको दाबी गरेका छन् । हजारौँको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणन्त्रात्मक व्यवस्थाका प्राप्त उपलब्धी खोस्न ठूला दलहरु लागिपरेको उनले आरोप लगाए । उनले भने, ‘ठूला दलविरुद्ध बोल्नेहरुलाई तह लगाउने हिसाबले समानुपातिक प्रणाली हटाउने योजना चलिरहेको छ, तीन दलको स्वार्थका कारण मुलुकमा अस्थिरता छ तर आरोप साना दलमाथि लगाइँदै छ ।’ साना दलहरु समाप्त पार्ने हिसाबले देशमा समानुपातिक प्रणाली हटाउने षड्यन्त्र चलिरहेको उनको आरोप छ । यो षडयन्त्रविरुद्ध एकपटक फेरि संघर्षका लागि तयारी अवस्थामा रहन यादवले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यादवले मधेश आन्दोलनपछि स्वायत्त मधेश प्रदेश स्थापनाका लागि सहमति भए पनि शासक वर्गको बदनियत र केही मधेशी नेताको गद्दारीका कारण आठ जिल्लालाई मधेशका नाममा सीमित बनाइएको आरोप लगाए । उनले आठ जिल्लाको मधेशीलाई आधार मानेर बाँकी मधेशको मुक्तिका लागि अभियान सञ्चालनका लागि आफूहरु लागेको बताए ।

पार्टी उपाध्यक्ष राजकिशोर यादवले जसपा नेपालले सञ्चालन गरेको अभियानले पार्टीलाई आन्तरिकरुपमा बलियो बनाएर मुलुकको शक्ति राजनीतिक पार्टीका रुपमा स्थापित गराउने रहेको बताए । उनले अहिलेको अभियानले पार्टीलाई शुद्धीकरणको बाटोमा समेत अग्रसर गराउने जिकिर गरे ।

पार्टी महासचिव एवम् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरकार स्थापना हुँदा आफूहरुले जनतालाई सुशासन र समृद्धिका लागि थुप्रै योजना सञ्चालन गरेको बताए । उनले प्रदेश सरकार स्थापना हुँदा कार्यालय अभावदेखि कर्मचारी अभावका बीच पनि काम गरेको बताउँदै अहिले संघीयता सबल बनाउन आफूहरुले निकै भूमिका खेलेको बताए ।

राउतले भने, ‘म मुख्यमन्त्री हुँदा सागरनाथ वन विकास परियोजनादेखि संघीयता सबल बनाउने थुप्रै काम गरेको थिएँ, तर अहिले केही राजनीतिक दलहरुले भाषण मात्रै गरेको देख्छु ।’ उनले दलित र सिमान्तकृतको अधिकारका लागि धेरै काम भएको बताउँदै पाँच वर्षमा संघीयता र अधिकारका क्षेत्रमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले दलित सशक्तिकरण ऐन ल्याएर समेत दलितको अधिकारलाई सुनिश्चित गरेको बताए ।

पार्टीका द्वितीय महासचिव रामकुमार शर्माले मधेशी जनताको अधिकार र पहिचानका लागि आफ्नो पार्टी प्रतिवद्धताका साथ अगाडि बढेको जिकिर गरे । कोषाध्यक्ष सुरिताकुमारी साहले जनताका बीचमा गएर आफ्नो पार्टी सात वर्षसम्म सरकार चलाउँदा के के गरियो, सो विषयमा जानकारी दिनुपर्ने बताए । मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय नेतृत्वदेखि आठ जिल्लाका नेता कार्यकर्ताको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button