
मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन सकिएको दुई महिनापछि मात्रै पदाधिकारी चयन गरेको छ । लामो समयदेखि कार्यकर्ताले प्रतीक्षा गरेको पदाधिकारी चयनलाई अध्यक्ष यादवले सोमबार मात्रै पूर्णता दिएका हुन् ।
अध्यक्ष यादवले महाधिवेशनबाट प्राप्त पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम अधिकार प्रत्यायोजन गरेर धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भएबमोजिम पदाधिकारी चयन गरेका हुन् । अध्यक्ष यादवले पदाधिकारीसहित ३० सदस्यीय केन्द्रीय कार्यकारिणी समिति, २७ जना केन्द्रीय सदस्यमा चयन गरेका छन् ।
उनले सोमबार जारी गरेको निर्णयअनुसार सहअध्यक्षमा रकम चेम्जोङलाई चयन गरेका छन् । पार्टीको विभाजनका समय अशोक राईको समूहमा नगएका चेम्जोङलाई अध्यक्ष यादवले शुरुदेखि नै सहअध्यक्ष बनाउने रणनीति बनाएका थिए । यसअघि वरियताक्रममा असन्तुष्ट राजकिशोर यादवलाई तेस्रो नम्बरको वरियतामा राखेका छन् । असन्तुष्ट यादवलाई अध्यक्ष यादवले सहअध्यक्ष नदिए पनि पाँच उपाध्यक्षमध्ये पहिलो नम्बरको उपाध्यक्ष दिएर फकाएका छन् । तेस्रो नम्बरका नेता बनेपछि नेता राजकिशोर भने सन्तुष्ट छन् । त्यसपछि उपाध्यक्षमा क्रमशः मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्यलाई चयन गरेका छन् । उपाध्यक्षमा पनि अध्यक्ष यादवले चतु¥याइँका साथ भूगोल, जात र समुदाय मिलाएको देखिन्छ । अध्यक्ष यादवले दुई यादव थरका, अरु जनजातिबाट मिलाएका छन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दाबी रहेका मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई भने महासचिवको जिम्मेवारी तोकिएको छ । अध्यक्ष यादवले माओवादीबाट भित्र्याएका रामकुमार शर्मालाई पनि दोस्रो महासचिव बनाएका छन । स्रोतका अनुसार मधेश राम्ररी बुझेका शर्मालाई महासचिव नै दिने भनेर भित्र्याएका थिए । मधेशी जनअधिकार फोरम नेपालमा हुँदा शर्मा सचिव हुँदै महासचिव भइसकेका थिए ।
त्यस्तै, प्रवक्तामा मनिष कुमार ‘सुमन’ दोहोरिएका छन् । सप्तरी निवासी सुमनलाई अध्यक्ष यादवले सप्तरीको राजनीतिमा सक्रिय पार्न सोही पदमा राखेका छन् । तर स्रोतका अनुसार उनी भने वरियता तल परेकामा सन्तुष्ट छैनन् । त्यस्तै, पार्टीको कोषाध्यक्षमा सुरिताकुमारी साह चयन भएकी छिन् । कोषाध्यक्षमा मधेश प्रदेश सांसद सञ्जय कुमार यादव, रेणु कुमारी यादव (सिरहा) र बलराम महतोले महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका थिए । जसमा प्रदेश कोषाध्यक्षमा रेणु कुमारी यादव पुरानो हिसाबले विवादित थिइन् । विवाद झनै बढ्न सक्ने भन्दै अध्यक्ष यादवले उनलाई कोषाध्यक्षमा दोहोरियाउन आँट गरेनन् । त्यस्तै, महाधिवेशन व्यवस्थापनको जिम्मा पाएका बलराम महतोमाथि महाधिवेशनमा हेराफेरी, नेताकार्यकर्तालाई काखापाखाको आरोप लागेको थियो । स्रोतका अनुसार यो विषय बाहिर नआए पनि भित्रभित्रै आगो झैँ सल्किएको थियो ।
‘महाधिवेशनको जिम्मेवारी महतोले राम्ररी निर्वाह गर्न सक्नु भएन, उहाँ आफ्नै ढंगले अघि बढनु भएको थियो, जुन विषय अध्यक्षजीसमक्ष अप्रत्यक्षरुपमा पु¥याएका रै’छन्, सायद त्यसैले होला उहाँले कोषाध्यक्षको जिम्मेवारी नपाएको !,’ स्रोतले भन्यो, ‘यद्यपि महतोजीलाई सेटलमेन्ट गर्नेमा अध्यक्ष गम्भीर हुनुहुन्छ ।’ स्रोतका अनुसार महतोलाई अध्यक्ष यादवले आर्थिक विभाग प्रमुख दिने आश्वासन दिएका छन् । जसपा नेता बलराम महतोले आफूले पार्टीको निर्णय सहजै स्वीकार गर्ने बताए । उनले मधेशदृष्टिसँगको कुराकानीमा पार्टी अध्यक्षजीले सबै कुरा बुझेर नै निर्णय लिएको हुनुपर्ने बताए ।
‘अब अध्यक्षले मलाई कोषाध्यक्ष लायक बुझ्नुभएन होला । मैले दाबी गरेकै हो, तर उहाँलाई त्यो पदका लागि म लायक नभएको जस्तो लाग्यो होला, हामीले एकल अधिकार अध्यक्षजीलाई दिएका थियौँ । उहाँलाई जे ठीक लाग्यो, त्यही गर्नुभयो । अहिले मैले के प्रतिक्रिया दिऊँ ?,’ महतोले मधेशदृष्टिसँग भने, ‘पार्टीले पदका लायक सम्झेर अर्को कुनै जिम्मेवारी दिने भन्नेमा आश्वस्त छु ।’
त्यस्तै, अध्यक्ष यादवले उपमहासचिव र सचिवमा भने महिलालाई बढी प्राथमिकता दिएका छन् । उपमहासचिवमा रेखा यादव र लीला सिटौलालाई सचिवमा मनोनयन गरिएको छ । र, पुरुषमा उपमहासचिवमा सांसदद्वय प्रकाश अधिकारी र दीपक कार्कीलाई मनोनयन गरिएको छ । सचिवमा ७ जना मनोनयन गरिएको छ ।
त्यस्तै, अध्यक्ष यादवले मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादव र पूर्वअर्थमन्त्री सञ्जय कुमार यादवलाई तत्कालका लागि कुनै पद नदिएर अर्को पटक व्यवस्थापन गर्ने सोचमा रहेको स्रोतको दाबी छ । अध्यक्ष यादवले यसरी गरेको पदाधिकारी छनौटमा भूगोलदेखि जातसम्म, नयाँदेखि पुरानोसम्मलाई सेटलमेन्ट गर्ने प्रयास गरेको देखिन्छ । तथापि भूगोलका हिसाबले हेर्ने हो भने अध्यक्ष यादवले पदाधिकारीदेखि कार्यकारिणी समितिमा सर्लाही र बारालाई प्राथमिकता दिएको देखिदैँन । त्यस्तै, केन्द्रीय कार्यकारणी सदस्यमा भने बहुसंख्यक मधेशी दलितलाई समेटिएको छैन । नेताहरु बोल्न नचाहेपनि मधेशी दलितका नेताहरु असन्तुष्ट छन् ।
के भन्छन् नवनियुक्त पदाधिकारी ?
नवनियुक्त महासचिव रामकुमार शर्माले पछिल्लो समयको विकसित राजनीतिक घटनाक्रमलाई औँल्याएर पदाधिकारी चयन भएको बताए । महासचिव शर्माका अनुसार, अध्यक्ष यादवले लामो समयपछि भएको महधिवेशनमा पदका आकांक्षी धेरै हुनु स्वभाविक भएको बताए । ‘आकांक्षी धैरै, पद थोरै, नयाँ पुरानो सबै मिलाउनै पर्ने थियो,’ उनले भने, ‘अध्यक्ष यादवले सुझबुझका साथ नै पदाधिकारी चयन गर्नु भएको हो ।’ उनले अध्यक्ष यादवले दुई महिना एक–एक आकांक्षीसँग भेटेर नै पदाधिकारीको नाम सार्वजनिक गरेको बताए । ‘मलाई लाग्दैन, कोही साथी असन्तुष्ट हुनुहुन्छ,’ उनले भने ।
त्यस्तै, कोषाध्यक्ष सुरिता कुमारी साह कोषाध्यक्ष पदको जिम्मेवारी पाउनेमा ढुक्क थिइनन् । उनी पदाधिकारीका विषयमा अध्यक्षज्यूले समन्वय र छलफल गरेर यही पद दिने भन्नेमा आश्वसत थिइनन् । ‘पार्टीले जिम्मेवार सम्झिएर यो पद दिएकामा स्वीकार गर्ने र सबैलाई मिलाएर जानेछु,’ उनले भनिन् ।