
मधेशदृष्टि
वीरगंज ।
वीरगंजमा सञ्चालित क्यासिनो (जुवाघर)हरु ग्राहकको खोजीमा लागेका छन् । बारा र पर्सामा सञ्चालनमा रहेका क्यासिनोले ग्राहक अभाव हुँनथालेपछि फोन गरेर बोलाउन थालेका छन् । त्यसैले तपाईंको पति, छोरा, भाइ, आफन्तको मोबाइलमा राति नयाँ नम्बरबाट फोन आयो भने सचेत हुनुहोला, यो क्यासिनोको नम्बर पनि हुनसक्छ, तपाईंको घरमा रहेका पुरुषलाई जुवाघरको लत पनि हुनसक्छ । वीरगंज महानगर, सिमरा जीतपुर उपमहानगरदेखि बारा–पर्साका नाम चलेका पत्रकार र स्थानीय प्रहरी अधिकारीको संरक्षणमै यस्तो अपराध कर्म फस्टाइरहेको छ भनेर मधेशदृष्टिले लगातार खबरदारी गरिरहेको छ ।
स्थानीय प्रहरी र पत्रकारले नै रोक्नु पर्ने र खबरदारी गर्ने पर्ने यस्ता जुवाघरसँग उल्टै मोटो रकम असुलेर छुट दिएपछि धेरैको बिल्लीबाठ भएको छ । कैयौँले आत्महत्या गरेका छन् । कैयौँको परिवार अभिभावकविहीन भएर सडकमा आएको छ । यसबारे हामीले पटकपटक लेखिसकेका छौँ । सरोकारवाल नै ‘काले–काले मिलेर खाउँ भाले’ भन्दै ‘तैँ चुप मैँ चुप’ भएपछि बारा–पर्साका क्यासिनो अब दलाल राखेर ग्राहक बोलाउने हैसियत बनाउँदैछन् ।
कानूनमा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने भनिएको छ । तर बारा–पर्साका क्यासिनोमा ग्राहक बनेर भारतीय आवरणमा नेपाली नागरिक नै पुग्ने गरेका छन् । वीरगंज महानगरमा रहेको क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोमा वीरगंजसँगै मधेश र बागमती प्रदेशका हेटौँडासहितका शहरका नेपाली ग्राहक रत्तिरहेको–रमाइरहेको देखिन्छ ।
कतिसम्म भने भारतीय भएको काजात खुल्ने प्रवेश पत्र बनाएर उनीहरुलाई गैरनेपाली बनाउने उद्योगसमेत चलिरहेको देखिन्छ । पर्सा र बाराको प्रहरी प्रशासनसँगको सेटिङमा नेपाली नागरिकलाई भारतीय नागरिकको आवरणमा क्यासिनोमा जुवा खेल्ने सुविधा भइरहेको विषय जुनसुकै नयाँ र काबिल प्रहरी अधिकृत तथा गजबको स्टोरी लेख्ने पत्रकारले समेत फेला पार्न नसक्ने गरी सेटिङ गरिएको भन्दै क्यासिनोका दलालहरुले साँझ पर्दै गएपछि फोन गरेरै दलालहरुलाई बोलाउने घटनाबाट पुष्टि भएको छ ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले सिर्सिया नदी सफाइमा चासो र वीरगंजका अतिक्रमित सडक विस्तारलगायत जस्ता कार्य गरेर राम्रै चर्चा बटुलिरहँदा वीरगंजमा अपराधजन्य घटनाकै रुपमा फस्टाइरहेको क्यासिनोको विषयमा देखाएको मौनता भने अचम्मको छ । वीरगंजको मुख्य बजारमै मनोरञ्जनका नाममा खुलेका क्यासिनोले सैयौँ नेपाली लुटिरहँदा यो विषय कहिल्यै पनि वीरगंज महानगरको चासो र चिन्तनको विषय बन्ने गरेको छैन । अधिकारसम्पन्न स्थानीय सरकार जुवाघरका पक्षमा कि विपक्षमा भन्ने प्रतिक्रियासमेत पाउन कठिन हुनुले कतै जुवाघरको कमिसनले चुनाव खर्च भर्पाई त भइरहेको छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
पर्सा प्रहरी प्रमुख भएर आएका एसपी कुमोद ढुंगेल पनि जुवाघरको संरक्षणमा कि विपक्षमा भन्ने विषयमा मौनता देखिन्छ ।
वीरगंजका क्यासिनोमा नेपालीको प्रवेश हुन्न भन्ने दाबीससहितको उनको भनाइ आएको पाइएको छैन । उनले वीरगंजमा लिएको अनेक एक्सनमा क्यासिनोको बदमासी, गुण्डागर्दी र नेपालीको घरबास उठाउने कार्यबारे कतै बोलेको सुनिन्न । पर्सा प्रहरी प्रशासनले क्यासिनोको बदमासीबारे अनुसन्धान गरेको, एक्सन लिएको, बदमासी रोक्न खोजेको कतै सुनिएको छैन ।
प्रहरी प्रशासनले नै बन्द गरेको फाइलमा रिएक्सन लिएर चर्चा बटुलेको पर्सा प्रहरीले जे गरिरहेको छ, त्यो स्टन्ट मात्रै हो, त्यसमा उसको सफलताको कुनै नयाँ रेकर्ड छैन, उसले निकै ठूलो हल्ला गरको चिनियाँ र २ ट्रक सामान पक्राउबारे पछिल्लो अपडेटसमेत बताउन नसकेपछि ढुंगेल नेतृत्व स्टन्टका लागि मात्रै वीरगंजका पत्रकारलाई ‘प्रयोग’ गरिरहेका छन् भन्ने बुझेर ८० प्रतिशत भन्दा बढी पर्साका पत्रकार अचेल जिल्ला प्रहरी कार्यालयको समाचारमा ध्यान दिन छाडिसकेका छन् ।
स्रोतको दाबी छ, ‘एकाध पत्रकारले समेत लड्र्स दियालोको किङ्गस कलेक्सनमाबाट जुवा खेलाएको समाचार नलेख्ने भन्दै मासिक लाखौँ बुझ्ने र पार्टनरकै हैसियत देखाउने गरेको छन् ।’ अरु पत्रकार पनि केही रकम मासिकरुपमा लिएर यो अपराधजन्य घटना ढाकछोप गरिरहेका छन् । वीरगंजका क्यासिनोमा हुने हुने कुटपिट, लुटपाटका घटना पनि पर्सा प्रहरीको अभिलेखमा अभिलेखित हुने गरेको छैन । क्यासिनोहरु मठमन्दिर होइनन्, जहाँ कुनै हिंसात्मक घटना हुन्नन् तर प्रहरी अभिलेखमै क्यासिनोबारे कुनै नकारात्मक अभिलेख नभएपछि बिहान मन्दिर जाने र राति क्यासिनो जानेहरुले घरबार डुबाउँदै गएका दर्जनौँ उदाहरण मधेशदृष्टिसँग भए पनि यसबारे प्रहरी प्रशासनको मौनता भने स्थानीय सरकारको जस्तै शंकास्पद देखिन्छ ।
फोन गर्नेहरुको विवरण यस्तो छः
तपाईंका परिवारका कोही जुवाघर जाने कुलतमा फसेका छन् भने रात ढल्दै गएपछि ग्राहक अभावमा फोन आउन सक्छ । क्यासिनोहरुले दलाल परिचालन गरेका छन् । उनीहरुले तपाईंलाई भारतीय भएको परिचयपत्रसमेत उपलब्ध गराइदिने भनेर फोन गर्न सक्छ । केही रकम लिएर भारतीय भएको परिचय पत्र बनाएर क्यासिनो छिराउने एउटा गिरोह वीरगंजमा सक्रिय छ । यो गिरोहमा क्यासिनो दियालो लर्डसका लागि सन्दीप गुप्ता नाम गरेका दलाल परिचालन भएका छन् । उनले प्रहरी प्रशासनलाई छक्याउने, फकाउने र नेपालीलाई भारतीय बनाउने परिचय पत्र दिने भन्दै नेपाली ग्राहकलाई फोन गर्ने गरेका छन् । उनको नम्बर मधेशदृष्टिसँग सुरक्षित छ ।
यस्तै, क्यासिनोमा नेपालीलाई भारतीय र गैरनेपाली बनाएर प्रवेश गराउने काममा विनोद भनिने व्यक्ति पनि सक्रिय छन् । उनले प्रहरीले केही नबिगार्ने भन्दै फोन गरेर बोलाउने गरेका छन् । उनी वीरगंजका क्यासिनोमा नेपालीलाई प्रवेश गराउने दलालका रुपमा वीरगंजमा सक्रिय छन् । उनको नम्बर पनि मधेशदृष्टिसँग सुरक्षित छ ।
यसरी नै वीरगंजका क्यासिनोमा नेपाली ग्राहकलाई फोन गरेर बोलाउनेमा मुकेश र लक्ष्मण नाम गरेका अरु दुई दलाल पनि छन् । उनीहरुको नम्बर पनि मधेशदृष्टिलाई प्राप्त भएको छ । क्यासिनोमा ग्राहक कम हुँदै गएपछि वीरगंज, हेटौँडा, बारा, रौतहटसम्मका ग्राहकलाई बोलाउने गिरोह नै वीरगंजमा सक्रिय भएको छ । यसबारे थप समाचार हामी प्रकाशन गर्दै जानेछौँ । क्यासिनोमा दुई करोडदेखि १० करोड रुपैयाँसम्म हार्ने हेटौँडाका १० भन्दा बढी ग्राहकको विवरण पनि मधेशदृष्टिसँग सुरक्षित छ । यस्तै, रक्सौल, वीरगंज, कलैया, रौतहटका क्यासिनोका ग्राहकबारे पनि सूचना प्राप्त भएको छ । कैयौँको बिल्लीबाठ भइसकेको छ ।






