
मधेशदृष्टि
रौतहट ।
राजर्षि जनक विश्वविद्यालयको आगिंकको क्याम्पसका रुपमा पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस गौरको उद्घाटन गरिएको छ । राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा.अमर यादवले मंगलबार एक समारोहका बीच क्याम्पसको उद्घाटन गरेका हुन् । उपकुलपति यादवले राजर्षि जनक विश्वविद्यालय मधेश प्रदेशमा एक मात्र संघीय विश्वविद्यालय रहेको बताउँदै आठ वटै जिल्लामा आंगिक क्याम्पस खोल्ने र देशभरी क्याम्पसलाई सम्बन्धन दिने कार्य भइरहेको जानकारी गराए ।
उपकुलपति यादवले पण्डित मंगल कुमार बहुमुखी क्याम्पस गौरका लागि नगरपालिकाले गरेको सहकार्यका लागि धन्यवाद दिदै यस क्याम्पसमा आगामी वर्षदेखि अन्य प्राविधिक शिक्षाको पढाइ थप्दै जाने विश्वास व्यक्त गरे । सो क्याम्पसले यसै शैक्षिकसत्रमा बिएससिएजी र बिबिए कोर्षमा भर्ना लिइरहेको कुरा विश्वविद्यालयका डिन सत्यनारायण साहले जानकारी दिए ।
गौर नगरप्रमुख शम्भु साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेकपा एसका केन्द्रीय सदस्य रेवन्त झा, राष्ट्रिय जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य अनिल कुमार सिंह र पूर्व शिक्षक विजय किशोर झा र विन्दा साहनीसहितकाले क्याम्पस स्थापनामा गौर नगरपालिकाले देखाएको अग्रसरताको सराहना गरेका छन् ।
सो अवसरमा शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान गरेका व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उपप्रध्यापक डा. दिपक गुप्ता, विजय किशोर झा, विन्दा साहनी र सिताराम चनौ रहेका छन् । उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए ।





