
वीरेन्द्र रमण
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा पार्किङको लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावि ई–रिक्सा लगायत सवारी साधनको पार्किङ हुने गरेको छ । जसका कारण जनकपुर नगर नै कुरुप बनेको छ । अर्को तर्फ ई–रिक्साको भाडामा समेत एक रुपता नहुँदा यात्रीहरु ठगिने गरेका छन् । अस्तव्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । जनकपुरधाम मधेश प्रदेशको राजधानी घोषणा भएपछि यहाँ राजनीतिक, आर्थिक तथा शैक्षिक गवितिधिमा पनि वृद्धि भएको छ ।
अहिले बजारमा जथाभावि ई–रिक्साको पार्किङ देखिएको छ भने अर्को तर्फ उनीहरुले तीब्र गतिमा चलाउने गरेकोले दुर्घटनाको जोखिम समेत बढेको छ । पार्किङ स्थलको आभावका कारण ई–रिक्साहरु जथाभावि जुनसुकै स्थानमा रोकिने गरेका छन् । चालकहरुले बाटामै ई–रिक्सा पाकिैङ गरि ग्राहक कुर्ने गरेका छन् । बाटोमा हिड्दा हिड्दै समेत यात्रु आएपछि एक्कासी बिना लाईटको संकेत बिच बाटोमा रिक्सा रोकिँदा पछाडि रहेका सवारी साधानहरुले समेत ठक्कर दिने गरेका छन् । जसले दुर्घटनाको जोखिम समेत उत्तिकै निम्त्याउने गरेको छ । नियमनकारी निकायको उदासिनताको कारणले कुनै पनि मापदण्ड विना जनकपुरमा ईरिक्सा संचालनमा रहेको छ भने उनीहरुबीचमा भाडामा समेत एकरुपता देखिदैन् ।
मनपरि भाडाको कारणले सर्वसाधारणहरु ठगिने गरेका छन् । तर, यस खालको समस्याहरु समाधान गर्न कुनै पनि नियमनकारी निकाय गम्भीर बनेको देखिदैन् । जनकपुरको रामानन्द चौकमा एका बिहानदेखि राजधानीबाट आउने बसको प्रतिक्षामा ईरिक्साहरु हुन्छन् । काठमाडौँबाट बसहरु आउने वित्तिकै यात्रुहरुलाई लिन उनीहरुबीच तछारपाछार हुन्छ । खास गरेर विदेशबाट कुनै व्यक्ति आएको खण्डमा उनीहरुले आफनो रिक्सामा बसाउन प्रतिस्पर्धा नै गरिरहेका हुन्छन् । तर जनकपुरको कुनै चौकमा ईरिक्साको लागि व्यवस्थित पाकिैङ नहुँदा यो समस्या झन बढ्दै गइरहेको छ । ईरिक्सावालाहरु विदेशबाट आउनेहरुसँग झन मनपरि रुपमा भाडा असुल्ने गरेको गुनासो आइरहेको हुन्छ । स्थानीयसँग पनि उनीहरुले मनपरि रुपमा नै भाडा असुल्ने गरेका छन् ।
विना मापदण्ड ईरिक्सा संचालन भईरहेका कारणले यसलाई व्यवस्थित गर्न स्थानीयस्तरमा आवाजहरु उठने गरेको छ । ई–रिक्सालाई व्यवस्थित गर्ने विषयमा आफुहरु सरोकारवाला विभिन्न निकायहरुसँग कुरा राखे पनि उनीहरुले खासै चासो नदिएको स्थानीय सरोज मिश्र बताउँछन् । रामानन्द चौकमा पसललाई नै छोप्ने गरि ई–रिक्सा लगाउदा बेलाबेलामा पसलेहरुसँग विवाद समेत हुने गरेको छ ।
मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरमा अहिले छ्याप छ्यापती ई रिक्सा सञ्चालनमा रहेका छन् । तर ई रिक्साको भाडामा भने एकरूपता नहुदाँ यात्रुहरू ठगिदै आएका छन् ।
सार्वजनिक सवारीका रुपमा सञ्चालनमा आएपछि यसका आफ्नै सामाजिक दायित्व र मापदण्डसमेत रहने गर्दछ । तर ई रिक्साले समान दूरीमा समेत ठाउँ समय, व्यक्ति हेरी भाडा असुल गर्ने गरेको गुनासो रहेको छ । त्यतिमात्रै होइन ई रिक्साको संख्या बढ्दै जाँदा छोटो दूरीमा भित्री सडकमा यात्रा गर्न सहज भएपनि यसको अव्यवस्थित पार्किङको समस्या उस्तै रहेको छ । व्यवस्थित रुपमा पार्किङ नगर्दा दुर्घटना मात्रै होइन, बजारका चोकचौराहा अव्यवस्थित जस्तो देखिने गरेको छ । भारतबाट समेत ईरिक्सा संचालन गर्न आउने भएकाले जनकपुरमा ईरिक्सा छ्यापछ्यापती भएको छ ।
ईरिक्सा सञ्चालकहरुसँग सवारी चालक लाइसेन्स नहुँदा पनि यसले समस्या निम्तयाएको छ । ईरिक्साको भाडादेखि मापदण्डमा समेत एकरुपता देखिदैन् । यसका बावजुद पनि यसको नियमानकारी निकाय भने गम्भीर भएको देखिदैन् । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयको गुनासो छ । जनकपुरमा आवश्यकता भन्दा बढि ईरिक्सा संचालनमा रहेको कारणले बजारमा अस्तव्यस्ता समेत थपिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किसोरी साहले यस विषयमा ई–रिक्साका चालकहरुसँग एक पटक छलफल भएको र फेरि उनीहरुलाई राखेर समस्याहरुको विषयमा छलफल गरिने बताए । उनले आउने दिनमा अझ व्यवस्थित रुपमा संचालन गर्नको लागि प्रयास गरिने बताए । पछिल्लो समय बिना कुनै मापदण्ड नगर क्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ । चालकहरूले अत्यधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगर क्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ । अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीय बताउँछन् ।






