लोसपाको नगरपालिकाअगाडि विरोध प्रदर्शन

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हंसपुर नगरपालिकाअगाडि विरोध प्रदर्शन गरेको छ । पार्टीले साउन १५ गते बुझाएको ज्ञापनपत्र अनुसार हंसपुर नगरपालिकाले सुधारको संकेत नदेखाएपछि विरोध प्रदर्शन भएको हो । विधिको शासनको अनुभूति नभएको, विभिन्न शीर्षकमा अनियमता वा भ्रष्टाचार भएको र सूचनाको हकसम्बन्धी प्रयोग गरेर निवेदन दिँदासमेत बेवास्ता गरेकाले विरोध प्रदर्शन गरिएको हंसपुर नगरपालिकाका पूर्वमेयर रामज्ञान मण्डलले बताए ।

यसअघि बुझाइएको ज्ञापनपत्रमा हंसपुर नगरपालिकामा नयाँ नेतृत्व आएको २ वर्ष ६ महिना बित्दा पनि जनताले सुशासन र सेवा अनुभूति गर्न नसकेको, पालिकाले अनेकानेक शीर्षकमा भ्रष्टाचार गरेको, अनियमितता गरेको भनेर बुँदागत हिसाबले विभिन्न शीर्षकसमेत उल्लेख गरिएको थियो । ज्ञापनपत्रमा पालिकाले भवनसमेत बनाउन नसकेको र स्थानीय सरकारको काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता नभएको आरोप लगाइएको छ । यस्तै, नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ (४ ख) अनुसार, योजना तथा कार्यक्रम अनुगमन गरी प्रतिवेदन नबुझाइएको, आयव्ययको वर्गीकरण तथा खर्च रोजगारी, लागत सहभागिताका काममा पनि पारदर्शीपन नदेखिएको बताएको छ ।

योजना छनौटमै खोट पाइएको, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पालना नभएको, जिन्सी मालसामानको लगत खडा नभएको, सार्वजनिक सेवाप्रवाह प्रभावकारी नबनाएको, क्षेत्रमा सार्वजनिक परीक्षण र सार्वजनिक सुनवाई नभएको पार्टीले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । एकीकृत सम्पत्ति कर, घरजग्गा कर, घरजग्गा बहाल कर, व्यवसायमा कर र बहाल शुल्क उठाउने व्यवस्थामा पनि नगरपालिकाले नगरेको पार्टीको आरोप छ ।

नगरपालिकाले नियमविपरीत करार र ज्यालादारी कर्मचारी नियुक्त गरेको आरोप पार्टीको छ । सूचनाको हक प्रयोग गरेर निवेदन दिएर माग गरिएको सूचनासमेत उपलब्ध नगराइएको भन्दै यसको विरोधमा नगरपालिकाअगाडि विरोध कार्यक्रम शुरु भएको छ । कार्यक्रममा लोसपाका नेता कार्यकर्ताको उपस्थिति थियो । पूर्वमेयर मण्डलले जनप्रतिनिधि जनताको सेवा सुविधा बढाएर जनमुखी काम गर्नुको सट्टा भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button