
मधेशदृष्टि
वीरगंज ।
पर्सा प्रहरीले एक सय ९२ किलोग्राम चरेश र दुई सय ९७ किलोग्राम गाँजासहित पटेर्वासुगौलीबाट एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा बिहीबार साँझ पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका ४० वर्षीय फुलसरिफ मियाँलाई गाँजासहित पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
एसपी ढुंगेलका अनुसार पक्राउ परेका मियाँको साथमा शुरुमा ३० केजी गाँजा बरामद भएको र पछि सोधपुछका क्रममा थप १९२ केजी चरेश र २६७ केजी गाँजाको धुलो बरामद गरिएको हो । नेपाल भारत खुला सीमानाका कारण लागुऔषधको कारोबार नेपाल र भारत दुबै देशका लागि चुनौति रहेको एसपी ढुंगेलले बताए ।
यस्तै, पर्सा प्रहरीले साउन महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न ३० जनालाई पक्राउ गरेको छ । साउन महिनामा चार करोड ८६ लाख बराबरको इलेक्ट्रिक चुरोट (भेप) समेत बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीकाअनुसार एक महिनाको अवधिमा दुई हजार ६३८ सवारी चालक ट्राफिक कारबाहीमा परेका छन् भने २१ लाख १३ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा भन्सार छली चोरी पैठारी गरी ल्याइएको करिब आठ करोड ३० लाख रुपैयाँ बराबरको सामानसमेत बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।






