आन्दोलनका लागि तयारी बसौँः सिके राउत

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अन्य दलको अस्तित्व समाप्त गर्ने षडयन्त्र भइरहेको बताएका छन् । जनमत पार्टी पर्साद्वारा वीरगंजमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाटमा राउतले संघीयतासमेत खारेज गर्ने षड्यन्त्र भएको भन्दै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष राउतले प्राप्त अधिकारसमेत समाप्त पार्ने गरी एकल समुदायको राज पुनः लाद्न खोजिएकाले आम जनसमुदाय सजग हुनु पर्ने भन्दै हरेक दिन आन्दोलनका लागि तयारी अवस्थामा रहनु जनमत पार्टीको कार्यदिशा भएको खुलासा गरे । संघीय सरकारले पठाएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मुख्यमन्त्रीलाई नमान्ने बताउँदै जनमत पार्टीको उद्देश्य अधिकार प्राप्त प्रान्तीय सरकार भएको बताए ।

उनले नेपाली जनताले अधिकारका लागि आन्दोलन गरिरहनु परेको बताउँदै आन्दोलन नभए प्राप्त अधिकारसमेत खोसिनसक्ने दाबी गरे । उनले जनमत पार्टीमा प्रवेश गर्ने नवप्रवेशीलाई सम्मान र जिम्मेवारी मिल्ने विश्वास दिलाउदै पार्टीमा जिम्मेवारीकासाथ लाग्न, धैर्य रहन आग्रह गरे ।

जनमत पार्टी पर्साका इन्चार्ज माधव सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा संयोजक ओमप्रकाश सर्राफले पार्टीप्रति आकर्षण बढ्दै गएको बताए । अध्यक्ष डा. राउतले नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्रासँगै एमाले, जसपा, माओवादी पार्टी लगायतका दल परित्याग गरेका व्यक्तिलाई फूलमाला र अबिर लगाई पार्टीमा स्वागत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button