
महेश कठायत
वीरगंज ।
पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याका घटनालाई कम गर्ने उद्देश्यले पर्सामा जिल्ला स्तरीय आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्यदल गठन गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा बसेको सरोकारवाला निकायको भेलाले आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्यदल गठन गरेको हो । उक्त कार्यदलको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र सहसंयोजकमा जिल्ला अस्पतालका मनोचिकित्सक रहने निणर्य गरिएको छ ।
उक्त कार्यदलले जोखिमयुक्त व्यक्तिको पहिचान गर्ने, लागुऔषध दुव्र्यसनीको लागत खडा गर्ने, घरेलु हिंसा पीडितको लगत तयार गर्ने, जोखिमयुक्त व्यक्तिको मेडिकल लगत तयार गर्नेछ । त्यस्तै, जोखिमयुक्त व्यक्तिको पारिवारिक स्थिती, वैदेशिक रोजगार, पादकपदार्थ सेवन संख्या आदिको अभिलेख राख्ने, जोखिमयुक्त व्यक्तिको सामाजिक सञ्जालमा पहुँच तथा प्रयोग गर्ने मुख्यमुख्य माध्यमको विश्लेषण गर्नेलगायतका कार्यहरु कार्यदलले गर्नेछ । त्यस्तै, जोखिमयुक्त व्यक्तिहरुको पहिचान पश्चात उनीहरुको उपचार तथा परामर्शको लागि एकिन गर्नेछ । साथै कार्यदलले अनाधिकृत रुपमा औषधीजन्य नशालु पदार्थ बिक्री वितरणमा रोक लगाउने एवं अनुगमन गर्ने छ ।
सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पछिल्लो समय बढ्दै गइरहेको आत्महत्या न्यूनिकरणका लागि सरकारले प्राथमिकता दिएको बताए । त्यसका लागि विभिन्न संघ संस्थाहरू र स्थानीय तहको भूमिका पनि महत्वपूर्ण हुने भएकाले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी भुसालले लागुआौषध प्रयोगकर्तालाई सुधार्न एक पटक मौका दिन सकिने तर लागुऔषध कारोबारीलाई मौका दिन नसकिने नीति लिएको उल्लेख गर्दै आत्महत्या न्युनिकरणका लागि पनि नयाँ ढंगले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले आत्महत्या न्युनिकरणका लागि प्रहरीले काम गरिरहेको भए पनि त्यसलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गरिएको बताए । आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्यदलले सुझाव सल्लाह पनि दिने र काम गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । आत्महत्याको कारणमा घरायसी समस्या, लैंगिक हिंसा, दाइजो र आर्थिक पाटो बढी देखिएको उनको भनाइ छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक निता थापाले आत्महत्याको वर्तमान अवस्था, आत्महत्याको कारण र लक्षणका बारेमा जानकारी गराइन् । प्रहरी निरीक्षक थापाका अनुसार पर्सामा आर्थिक वर्ष २०७९–०८० मा ११७ जना, २०८०–०८१ मा १२३ जनाले आत्महत्या गरेका छन् । बढ्दो आत्महत्याका घटनाहरु कम गर्न आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्यायोजना अनुरुप जिल्ला, पालिका र वडास्तरीय समितिहरु गठन गर्ने खोजिएको प्रहरी निरीक्षक थापाले बताइन् । विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको ९५ प्रतिशत आत्महत्याको कारण मानसिक समस्या रहेको प्रतिवेदनले देखाएको उनको भनाइ थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघको उपाध्यक्ष हरि गौतमले आत्महत्या गर्नेहरुमा उद्योगी व्यवसायीहरु पनि रहेको भन्दै यस्ता घटना हुन नदिन राज्यबढी जिम्मेवार बन्नुपर्ने बताए । सरकारले बनाउने ऐन कानुनहरु उद्योग व्यवसायमैत्री भए यस्ता घटनालाई न्युनिकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, सुरक्षा निकाय, माइती नेपाल, स्काउट, साइनो पाइला, वीरगंज महानगरपालिका, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायत सञ्चारकर्मीको सहभागिता थियो ।






