
सञ्जय मिश्रा
रौतहट ।
गौर–चन्द्रिगाहपुर सडकखण्डको मध्यभाग गरुडाछेउ झाँझ पुल अगाडि सञ्चालित ग्राण्डी हस्पिटलले उपचारका नाउँमा ठगी धन्दा शुरु गरेको छ । आँखासम्बन्धी पढाई गरेका संजीव जैसवाल जेनरल फिजिसियन डाक्टर बनेर उपचारका नाममा सर्वसाधारणलाई लुटिरहेको पाइएको छ ।
साधारण चोटपटक लाग्दा चेकजाँचका नाममा तथा विभिन्न उपचारका नाममा बिरामी भर्ना गरेर जैसवालले हजारौँ रुपैयाँ लुटिरहेको पीडितहरुले बताए । आफूलाई डाक्टर बताउने जैसवाललाई साधारण एक्सरेसमेत हेर्न नआउने एक घटनाले पुष्टि गरेको छ । केही समयअघि कटहरिया–६ फत्तेपुरका ४५ वर्षीय सुरेन्द्र प्रसाद जैसवाल सामान्य दुर्घटनामा परेर उपचारका लागि रौतहट ग्राण्डी हस्पिटल एवम् आइकेयर सेन्टर गएका थिए । हस्पिटल सञ्चालक जैसवालले चोट लागेको ठाउँ घुँडाको एक्सरे गरेर उपचार शुरु गरेका थिए ।
साधारण चोट हो, केही गर्नु पर्दैन भन्दै उनले बिरामीको उपचार शुरु गरेका थिए । केही समयपछि एक्सरेको फोटो खिचेर अर्का एकजनालाई ह्वाट्स एपमा पठाउँदा घुँडाको पूरै हड्डी टुक्राटुक्रा भएको परामर्श आयो । अपरेसन गरेर स्टिल हाल्नुपर्ने सुझाव आयो ।
यसपछि उनलाई त्यहाँबाट डिस्चार्ज गरी सूर्या अस्पताल वीरगंज पठाउँदा घुँडाको हड्डीमा कतै नभाँच्चिएको र साधारण चोट लागेको देखिएको थियो । बिरामी सुरेन्द्रले एक्सरे हेर्न नआउने हस्पिटल सञ्चालक आफूलाई डाक्टर बताउने जैसवालले झण्डै जीवनसँग खेलवाड गरेको भन्दै गुनासो गर्छन् । सुरेन्द्र त एउटा उदाहरण मात्र हुन्, रौतहट ग्राण्डी हस्पिटलमा बिभिन्न डाक्टरका नाम देखाएर यसरी नै बिरामीको जीवनसँग खेलवाड गर्नुका साथै सर्वसाधारणको उपचारका नाममा लाखौँ रुपैयाँ लुटिरहेको पीडितहरुले बताए ।
स्थानीय निकायको निर्वाचनपछि यस्ता अस्पतालको गतिविधिमा निगरानी गर्ने, अनुगमन निरीक्षण गर्ने अधिकार सम्बन्धित पालिकालाई दिइएको छ । तर गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवाल तथा नगर स्वास्थ्य संयोजक, प्रमुख प्रशासकीय अधिकृत रौतहट ग्राण्डी हस्पिटललगायत अन्य कुनै अस्पतालको निरीक्षण नगरी हजारौँ नागरिकको ज्यानधनसँग खेलवाड गरिरहेका अस्पतालको धन्दा अनदेखा गरिरहेको सर्वसाधारणको आरोप छ ।






