कर्मचारी हाजिर गराउन मन्त्री र सचिव पुगे प्रयोगशाला

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक प्रयोगशालाका निर्देशकलाई सरुवा गरेपछि नयाँ निर्देशकलाई हाजिर गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह कोइरी र सचिव डा. प्रमोद यादव आफैँ प्रयोगशाला पुगेर हाजिर गराएका छन् । संघीय सरकारका कर्मचारी मिश्रलाई सरकारले सरुवा गरेर २४ घण्टाभित्र जाने भनेपछि कर्मचारीहरु आक्रोशित भएका थिए ।

प्रदेश सरकारले मिश्रको स्थानमा कुमार मृत्युञ्जय प्रसादलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ । उनी मन्त्री र सचिव लिएर हाजिर हुन कार्यालय पुगेका थिए । कार्यालयमा कर्मचारीहरुले उनको विरोध गरेका थिए । उनीहरुले कर्मचारी सरुवा स्वाभाविक प्रक्रिया भए पनि कानुनसम्मत रुपमा काम नभएको भन्दै कर्मचारीले विरोध गरेका हुन् । उनीहरुले नियुक्त गरिएका नयाँ निर्देशक बाहिरसमेत आफ्नो ल्याब सञ्चालन गरिरहेको अवस्थामा प्रादेशिक ल्याबलाई धरासायी बनाउन सक्ने भएपछि यसको विरोध गरेको बताउँछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियुक्त गरेका कर्मचारीलाई हाजिर गराउन मन्त्री र सचिव आफैँ पुगेका हुन् । जसले केही समय प्रयोगशालाको अवस्थासमेत तनावग्रस्त भएको थियो । कर्मचारीले उनीलाई हाजिर हुन नदिन कार्यालयमा ताला लगाएका थिए । त्यसपछि मन्त्रीले प्रहरीसमेत बोलाएर कार्यालय प्रवेश गरेका थिए । मन्त्री सिंहले पालिकास्तरीय कर्मचारीलाई भने, ‘तपाईंहरुलाई नियुक्त गरी काममा खटाउने सरकारले हो । कोही व्यक्तिले होइन । तसर्थ कुनै व्यक्तिको उक्साहटमा लागेर काम छाडेर अन्यत्र नहिँड्नुस् । तपाईंहरुको जागिर कसैले भनेर जाँदैन ।’

यता मिश्रले पत्रकार सम्मेलन गरेर आफ्नो प्रयोगशालाको चारवर्षको उपलब्धी सार्वजनिक गरेका छन् । उनले मधेश प्रदेशको प्रयोगशालालाई नेपालकै नमूना प्रयोगशालाका रुपमा विकास गरेको बताए । उनले मधेश प्रदेशको १ सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर स्थानीय तहमा सर्वसाधारणलाई रोग पहिचान गर्न सहज भएको बताए । मिश्रले जनतालाई सहज सेवाप्रवाहको अवस्था सिर्जना भएको र यसले जनतामा प्रयोगशालाप्रति भरोसासमेत विकास भएको बताए ।

मिश्रले प्रयोगशालामा भएको घटना दुःखद रहेको बताउँदै कुनै पनि कर्मचारीलाई सरुवा भएपछि २१ दिनभित्र बुझबुझारथ गरेर जाने कानूनी अवस्था रहेको बताउँदै तर जसरी आइतबार घटना भएको छ, त्यो विधिको शासनविरुद्धमा रहेको बताए । उनले आउने दिनमा प्रयोगशाला अझ राम्रो होस् भन्ने आफनो चाहना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button