
मधेशदृष्टि
काठमाडौँ ।
बङ्गलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीमाथि भइरहेको अत्याचारको विरोधमा नेपालका विभिन्न धार्मिक, राजनीतिक र सामाजिक संघसंगठनहरूको सर्वपक्षीय बैठक भएको छ । राष्ट्रिय एकता अभियानले समन्वय गरेको बैठकमा सहभागीहरूले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीको संरक्षणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकको अध्यक्षता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले गरेका थिए । बैठकमा प्रतिनिधि सभा सदस्य किरण साह, विश्लेषक एवम् पूर्वप्रधानमन्त्रीका परराष्ट्र सलाहकार अरुणकुमार सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दू महासंघका अर्जुन बास्तोला, इस्कानका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणामी सेवा समितिका श्यामकृष्ण शर्मा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका महासचिव रामचन्द्र तिवारी, वरिष्ठ पत्रकार एवम् विश्लेषक युगनाथ शर्मा पौडेल, नेपाल वैदिक सञ्चार केन्द्रकी घमा भट्टराई, जरो किलो पार्टीका महासचिव प्रकाश श्रेष्ठ, नागरिक शक्ति नेपालका महासचिव ओम ढकाल, दीपक सिंह महर्जनलगायतको सहभागिता थियो ।
बैठकले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीलाई नेपालमा शरण दिन सरकारले घोषणा गर्न दबाब दिने निर्णय गरेको छ । साथै, परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेशलाई हिन्दू र बौद्ध धर्मावलम्बीमाथि दमन रोक्न कुटनीतिक नोट पठाउन दबाब दिने निर्णय पनि गरेको छ । सर्वपक्षीय बैठकमा सहभागीले नेपालस्थित बङ्गलादेशको दूताबास घेराउको योजनासमेत बनाइएको छ । घेराउ कार्यक्रममार्फत बङ्गलादेश सरकारलाई हिन्दू र बौद्ध धर्मावलम्बीमाथि भइरहेको अत्याचारविरुद्ध कडा सन्देश पठाउने उद्देश्य राखिएको छ ।
बैठकमा सहभागीहरूले बङ्गलादेशमा भएका अत्याचारको विरोधमा आवाज उठाउन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन र नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट प्रभावकारी कदम चाल्न आग्रह गर्ने निर्णय भएको छ । बैठकका सहभागीहरूले बङ्गलादेशमा भइरहेको क्रूरतापूर्ण घटनाको विरोधमा सबैलाई एकजुट भएर लड्न आह्वान गरेका छन् । बैठकले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीको संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ । सहभागीहरूले बङ्गलादेशमा भइरहेको अत्याचार अन्त्य गर्न सबैको सहयोग अपरिहार्य रहेकामा जोड दिएको छ ।






