
मधेशदृष्टि
वीरगंज ।
मौसम परिवर्तनसँगै गर्मि र बर्षाले संक्रमणजन्य रोगका बिरामी बढेका छन् । बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरुमा संक्रमणजन्य रोगका कारण उपचारका लागि अस्पतालमा बिरामीको संख्या बढेको छ । छिनछिनमै मौसम परिवर्तन हुनथालेको कारण वीरगंजका निजी तथा सरकारी अस्पतालहरुमा मौसमी संक्रमणका बिरामी बढ्न थालेका हुन् । रुघाखोकी, ज्वरोे, टाइफाइड, झाडापखाला, मांसपेशीदुख्ने, घाउ, खटिरा, आउँमासी, टाउको दुख्ने, रिँगटा लाग्ने, बान्ताहुने जस्ता स्वास्थ्य समस्या लिएर बिरामीहरु अस्पताल आउने गरेको नारायणी अस्पताल वीरगंजका आकास्मिक सेवा कक्षका चिकित्सक दिलीप चौरसीयाले बताए ।
अस्पतालका प्रवक्ता एवमं वरिष्ठ फिजिसियन डा.उदय नारायण सिहंकाअनुसार अहिले नारायणी अस्पतालमा ओपीडी र आकास्मीक कक्षमा दैनिक रुपमा पाँच सय देखी आठ सयसम्म बिरामी चेकजाँचका लागि आउने गरेका छन् । अस्पताल आउनेहरुमा सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा रहेको र उनीहरुमा प्राय भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, टाइफाइडलगायतका समस्या देखिने गरेको डा. सिंहले बताए । गर्मीमा अत्याधिक पसिना आउने भए पनि पर्याप्त पानी पिउने बानीको विकास नहुँदा डिहाइड्रेसनको समस्या बढी हुने उनको भनाइ छ ।
गर्मीका कारण मुख सुक्ने, पानीको कमी महशुस हुनेहुँदा यस्तो मौसममा बढी झोलिलो पदार्थयुक्त खाना खान र प्रशस्त मात्रामा पानी पिउन चिकित्सकहरुको सुझाव छ । मौसम प्रतिकूल भएको अहिलेको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनुपरे छाताको प्रयोग गर्न साथै सुतीको कपडा लगाउन चिकित्सकले आग्रह गरेका छन् । मौसम जन्यप्रकोपको कारण हुने रोगका अलवा अहिले मध्यतराईका जिल्लाहरुमा सर्पदंशका घटनाहरु समेत बढेका छन् । नारायणी अस्पतालमा मात्रै दैनिक रुपमा ५÷६ जना सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका आकास्मिक सेवाकक्षका प्रमुख डाक्टर दिलिप चौरसीयाले बताए ।






