साक्षरता अभियानमा स्वयमसेवक विद्यार्थी खटाइने

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको संख्या गम्भीर समस्या बनेकाले गरिबी र पछौटेपनबाट प्रदेशवासीलाई मुक्ति दिलाउन साक्षरताको स्थितिमा तीव्र सुधार ल्याउने अपेक्षाअनुसार विश्वविद्यालयसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिंहले प्रदेशका निरक्षर जनतालाई साक्षर तुल्याउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयम्सेवक परिचालन गर्ने सम्भावना र स्वरूपबारे विश्वविद्यालयका पदाधिकारीसँग प्रारम्भिक छलफल आरम्भ गरेको सुनाए । उनले भने, ‘छिटो प्रतिफल लिने गरी साक्षरता अभियान तीव्र तथा सघन बनाउन ठूलो जनशक्ति आवश्यकता हुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका छात्रछात्रालाई प्रशिक्षित बनाएर यसलाई सम्भव बनाउन सकिन्छ भन्ने कोणबाट कुराकानी भइरहेको छ ।’

मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवलगायत विश्विविद्यालयका अन्य पदाधिकारीसँग यस विषयमा छलफल गरेका छन् । कुराकानीमा प्रदेशका आठवटै जिल्लामा विश्वविद्यालयका कलेज विस्तार गर्ने विषयसँगै साक्षरता अभियानमा विद्यार्थी स्वयम्सेवक परिचालनबारे चर्चा भएको छ ।

विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले साक्षरता अभियानमा विश्विद्यालयका विद्यार्थीलाई दशैँ बिदा वा पुस माघको जाडो बिदामा उपयोग गर्न सकिने विषयमा छलफल भएको बताए । उपकुलपति यादवले सबै तहका विद्यार्थीबाट साक्षर प्रदेश बनाउने अभियानमा योगदान लिन सकिने उल्लेख गरे । पाठ्यक्रममै राखेर वा शिक्षासम्बद्ध अन्य संस्थासँग समन्वय गरी प्रमाणपत्र समेत दिने गरी विश्विद्यालयका विद्यार्थीको योगदान साक्षरतालगायत शैक्षिक अभियानका लागि सुनिश्चित गर्न सकिने उनले बताए । उपकुलपति यादवले साक्षरता अभियानमा सहभागिताले समुदायसँग विद्यार्थीको निकटता र अनुभव बढाउने टिप्पणी गरे ।

मुख्यमन्त्री सिंहले साक्षरता अभियानमा सजिलो गरी अक्षर र अर्थ चिन्ने बुझ्ने अवस्था विकसित गर्ने सफ्टवेयर प्रयोग गरिने उल्लेख गरे । विश्वविद्यालयका स्वयम्सेवक विद्यार्थीले निरक्षरलाई साक्षर बनाउन प्रयोग गर्ने सफ्टवेयर लाभग्राहीसमेतलाई उपलब्ध गराउने गरी कार्ययोजना बनाइने बताए ।

मधेश प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर ६३ दशमलव ५ प्रतिशत छ । तथ्याङ्कअनुसार देशमैै सबैभन्दा कम साक्षरता भएको मधेश प्रदेशकै चार जिल्ला रौतहट, महोत्तरी, सर्लाही र बारा छन् । पाँच वर्षमाथिका निरक्षर जनताको संख्या ६३ दशमलव पाँच प्रतिशत छ । मधेश प्रदेशका पाँच वर्षमाथिका महिलातर्फ २३ लाख ५९ हजार ७ सय ३१ जनसंख्यामध्ये १७ लाख ३७ हजार ४ सय ६९ निरक्षर छन भने पाँच वर्षमाथिका २२ लाख १८ हजार ७ सय ९ पुरुषको जनसंख्यामध्ये ३ लाख ३ हजार ६४ निरक्षर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button