एमाले केन्द्रीय सदस्यमा कुशवाहा पुनः मनोनीत हुँदा जिल्ला इन्चार्जमा गुप्ता

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
नेकपा एमालेको केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा पुनः मनोनीत हुँदा रौतहट जिल्लाको इञ्चार्जमा पार्टी केन्द्रीय सदस्य अजय कुमार गुप्ता मनोनीत भएका छन् । बिहीवार बसेको एमालेको सचिवालय बैठकले पार्टी जिल्ला इन्चार्जमा गुप्ता र पार्टीको केन्द्रीय सदस्यमा कुशवाहालाई मनोनयन गरेको हो । इन्चार्ज गुप्ता गत निर्वाचनमा रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेको टिकटमा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका थिए । उनी थोरै मतले पछि पर्दा उक्त क्षेत्रबाट नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निर्वाचित भएका थिए ।

त्यसैगरी कुन्दन कुशवाहा गत निर्वचनमा क्षेत्र नम्बर ३ (ख) बाट प्रभु साहको साथमा प्रदेश सांसद पदका लागि स्वतन्त्र रूपमा चुनाव लडेका थिए । तत्कालीन नेकपा एमालेका पोलिब्युरो सदस्य प्रभु साहले एमालेको टिकट पाखा लगाउँदै स्वतन्त्र चुनाव लड्दा उनकै सल्लाह अनुसार तत्कालीन एमालेका केन्द्रीय सदस्य कुशवाहाले पनि पार्टीको टिकट पाखा लगाएर स्वतन्त्र उमेदवारी घोषणा गरेका थिए ।

क्षेत्र ३ (ख) मा कांग्रेस उमेदवार सुनिल कुमार यादव (जितेन्द्र) प्रदेश सांसदमा निर्वाचित हुँदा कुशवाहा दोस्रो स्थानमा रहेर पराजित भएका थिए । लगत्तै नेकपा एमाले पार्टीले प्रभु साह र उनको टिममा रहेका कुन्दन कुशवाहालगायतलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । प्रभु साहले नेतृत्व गरेको आमजनता पार्टीको महासचिवको जिम्मेदारी पाएका कुन्दन कुशवाहा ६ महिना अघि गत निर्वाचनमा आफूसँग ‘धोका’ गरिएको भन्दै प्रभु साहको साथ छोडेर पुनः नेकपा एमालेमा प्रवेश गरेका थिए ।

कुशवाहालाई पार्टी अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए । पूर्व मन्त्री तथा आजपा अध्यक्ष प्रभु साहको साथमा हुँदा निकै क्रियाशील रहनुका साथै कटहरिया ४ स्थित तराई मधेश सहिद स्मृति प्रतिष्ठानको भवन निर्माणका लागी लाखौँ मूल्य पर्ने २ कठा जग्गा निःशुल्क प्रदान गरेका थिए ।

कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महत्तोका जेठा छोरा कुन्दन कुशवाहा प्रदेश सांसदको राजनीति गर्दा कान्छा चन्दन कुशवाहा वडा ४ मा दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका छन् । युवाहरु बीच लोकप्रिय चन्दन २०८४ को स्थानीय निर्वाचनमा मेयर पदमा चुनाव लड्ने हाल ब्यापक चर्चा चलेको छ । सरल स्वाभावका चन्दन विकास निर्माणमा बिशेष चासो राख्नुका साथै नगरबासी माझ त्यतिकै लोकप्रिय रहेको स्थानीयहरुले बताउने गरेका छन् ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button