एमालेद्वारा मधेशका दुई नेतालाई महत्वपूर्ण जिम्मेवारी

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेले मधेश प्रदेश इञ्चार्जमा सिरहाका लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यस्तै मधेशबाट पार्टी सचिव रहेका रघुवीर महासेठ भने एमालेको महत्वपूर्ण विभाग विदेश विभाग प्रमुख बनाइएका छन् । बिहीबार बसेको एमालेको बैठकले निधन भएका उपाध्यक्ष सुवास नेम्बाङको रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । पार्टीको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गरेको हो । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टी छाडेर गएका नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरिएको छ । स्थायी कमिटी मनोनयनसम्गै श्रेष्ठले मधेश प्रदेश इञ्चार्जको नेतृत्व पाएका छन् । यसअघि एमाले सचिव योगेश भट्टराई मधेश प्रदेश इञ्चार्ज थिए ।

एमालेले पार्टी प्रवेश गरेका, महिला र विभिन्न जनवर्गीय सङ्गठनका १७ नेतालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) केन्द्रीय सदस्य मनोनीत भएका छन् । यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि केन्द्रीय सदस्य भएका छन् ।

एमालेले प्रदेश इञ्चार्जहरु पनि हेरफेर गरेको छ । शेरधन राईलाई कोशी प्रदेश, डा. राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको छ । बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद् बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button