
मिटरब्याजी शिवजी यादवलाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए । शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म ठाकुरको शव नजलाउने उनीहरुको अडान छ । उनीहरुले बिहीबार गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरे ।
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याज पीडितहरु फेरि सडकमा आएका छन् । यसपटक उनीहरुले मिटरब्याजका साहुले नै पीडितको हत्या गराएको भन्दै सडक तताएपछि प्रहरीले सर्वसाधारणलाई पनि आवागमनमा कडाइ गर्नु परेको छ भने मुख्यमन्त्री कार्यालय जाने बाटोसँगै अन्य चोकमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आइतबार कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित जनकपुरधाममा मिटरब्याज पीडितले बिहीबार प्रदर्शन गरे । उनीहरुले ठाकुरको मृत्यु सामान्य विवादका कारण नभएर मिटरब्याजका कारण भएको आरोप लगाउदै शवसहित जनकपुरमा विरोध र शक्ति प्रदर्शन गरेका हुन् । उनीहरुले केही व्यक्तिलाई पक्राउ नगरेसम्म वार्ता नगर्ने भन्दै प्रशासनले बोलाएको वार्ता पनि अस्वीकार गरेका छन् ।
मंगलबारदेखि स्वर्गद्वारीमा शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीबार जनकपुरधाम बजारमा प्रदर्शन गरे । शव बोकेर चोकचोकमा घुमाए । उनीहरुले ठाकुरको शव ट्र्याक्टरमा राखेर जनकपुरधामका विभिन्न चोक हुँदै मुख्यमन्त्री कार्यालयतर्फ लैजान खोज्दा प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले नै जुलुश रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरु त्यहीँ धर्नामा बसेका थिए । भोगेन्द्रका पत्नी श्यामुदेवीका अनुसार उनी नुहाइरहेको समयमा मोबाइलमा भिडियो खिच्न खोज्दा विवाद शुरुवात भएको र लेनदेनको विषयलाई लिएर आफूहरुमाथि कुटपिट गरिएको तथा श्रीमानको हत्या भएको हो ।
मृतक ठाकुरले शिवजी यादवबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उनकी श्रीमती श्यामुले जग्गा बेचेर पैसा बुझाए पनि हिसाब दिन नमान्दा शिवजी यादवसँग पटकपटक विवाद हुँदै आइरहेको बताइन् । यही कारण शिवजीले पटकपटक ज्यान मार्नेसम्मको धम्की दिएपछि केही दिनअघि ठाकुरले जिल्ला प्रहरी कार्यालय धनुषामा शिवजीमाथि मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए । त्यसकै निहुँमा शिवजीकै योजनामा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दाबी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरेर कारबाही माग मिटरब्याज पीडितहरुको माग छ । मिटरब्याज पीडितहरुले शवसहित विरोध प्रदर्शन गर्न थालेपछि नगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमन्त्री कार्यालय जाने बाटो भएर सर्वसाधारणलाई आवागमनमा समेत कडाइ गरिँदै केही समय रोक लगाइएको थियो ।
मिटरब्याजी शिवजीलाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिको अडान रहेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए । शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म ठाकुरको शव नजलाउने मिटरब्याज पीडितको अडान छ । उनीहरुले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरे ।
ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले शव जलाउन रोकेको हो । सोमबार बिहान घरमै कुटपिट हुँदा ठाकुरको ज्यान गएको थियो भने पत्न्ी श्यामु गम्भीर घाइते भएकी थिइन् । धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले मिटरब्याज पीडितलाई बिहीबार ११ बजे वार्तामा बोलाइए पनि नआएको बताए ।






