‘हिन्दूवादीका असल अभिभावक गुमायौँ’

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
साउन ६ गते सर्लाहीमा नृशंस हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको ११ औँ तिथिको अवसर पारेर काठमाडौँमा बुधबार श्रद्धाञ्जली सभा भएको छ । हिन्दू गणतन्त्रवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका हिन्दूवादी नेता रायको श्रद्धाञ्जली सभा गरेको हो ।

सभामा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले मन्त्री राय सर्लाहीका मात्र नभई देशकै नेता रहेको बताउँदै उनको सरल, शान्त र इमानदार व्यक्तित्वका विभिन्न आयामबारे चर्चा गरे । राणाले नेता रायमा देशप्रति अगाध प्रेम रहेको र उनी राष्ट्रवादी चिन्तनका पर्याय भएको भन्दै उनको हत्याबाट देशले एक असल व्यक्तित्व गुमाएको बताए । रायको हत्या रहस्यमयी भएको उल्लेख गर्दै उनको हत्याबारे सुक्ष्म तथा वस्तुपरक छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्ने बताए ।

राप्रपाका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनीले दिवंगत रायसँगको चार दशकको राजनीतिक यात्रा सम्झँदै मुलुक र जनताका पक्षमा उनले गरेका योगदानका बारेमा बेलिबिस्तार लगाए । उनले भने, ‘जनताका हितमा कार्य गर्न सदैव तत्पर रहने उहाँको हत्या स्तब्धकारी र निन्दनीय छ । हत्याबारे सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न ठोस पहल हुनुपर्छ ।’ जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले स्व. राय असल राजनीतिकर्मी भएको बताउँदै उनको हत्याको छानबिनका लागि राज्यलाई थप गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘पूर्वमन्त्री रायको हत्याबारे फराकिलो दायरामा छानबिन गर्न जनमत पार्टी माग गर्दछ ।’

कार्यक्रममा नेपाली जनता दलका नेता अध्यक्ष हरिचरण साहले नेता रायका प्रभावबारे आफूले बाल्यकालमै थाहा पाएको भन्दै सर्लाहीबाट राष्ट्रिय राजनीतिमा स्थापित हुनेमा उनी सधैँ अग्रपंक्तिमा रहँदैआएको बताए । अभियानका अध्यक्ष यादवले मधेश आन्दोलनका बेला नेता रायकै नेतृत्वमा मधेशका माग र मुद्दाबारे सरकारलाई बुझाइएको र त्यसपछि मात्र आन्दोलनबाट उठेका आवाज सम्बोधन गर्ने वातावरण बनेको स्मरण गर्दै तत्कालीन तमलोपा पार्टी स्थापना गर्न उनको भूमिका अतुल्य रहेको बताए ।

अभियानका संरक्षक समेत रहेका रायको हत्याले हिन्दूवादी आन्दोलनको एउटा असल अभिभावक गुमेको अध्यक्ष यादवले उल्लेख गरे । जसपाका नेता तथा मधेश प्रदेशसभाका पूर्वसदस्य अशोक यादव, अभियानका वरिष्ठ नेता बिपी यादव, यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादव, पत्रकार मनोज यादवलगायतका व्यक्तिले पूर्वराज्यमन्त्री यादवको हत्या देश र समाजका लागि अपूरणीय क्षति भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button