पतिको जग्गा हडप्न पत्नी नुहाएको भिडियो खिचेर विवाद

मिटरब्याजीको आतंकमा यसरी लुटियो एउटा जिन्दगी

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३, मंगलपुरमा भएको कुटपिट घटनामा मृत्यु भएका भोगेन्द्र ठाकुरको मृत्यु मिटरब्याजीबाट गराइएको रहस्य खुलेको छ । भोगेन्द्रले सोही गाउँका शिवजी यादवसँग करिब ३ लाख रुपैयाँ जग्गा किन्ने समयमा ऋण लिएका थिए ।

६ लाख रुपैयाँमा जग्गा किन्नुपर्ने भएकाले उनले ३ लाख रुपैयाँ व्यवस्था गरेका थिए । ३ लाख रुपैयाँ शिवजीसंग ऋण लिएका थिए । जमिन पनि शिवजीकै नाममा पास गराउने शर्तमा ठाकुरले ऋण लिएका थिए । जग्गा भोगेन्द्रले भैरव महतोसँग खरिद गरेका थिए । जग्गा खरिदपछि उनले लिएको ऋणबापत पटकपटक गरेर शिवजीलाई ९ लाख रुपैयाँ तिरेका थिए । पछि जग्गाको कागजात र जग्गा फिर्ता दिन भने पछि शिवजीले विभिन्न निहुँमा उनीसँग झगडा गर्ने, जग्गा नदिने गर्दै आएका थिए ।

सामाजिक स्तरदेखि विभिन्न निकायमा समेत उनीहरुको विषयमा छलफल भएको थियो । तर पनि शिवजीले जग्गा फिर्ता नगर्ने उल्टै धेरै पैसा माग्ने गरेका थिए । पछिल्लोपटक घटना हुँदासमेत शिवजीले नै गराएको स्थानीयको आरोप छ । झगडाको निहुँ बनाएर हत्या गर्ने र जग्गा पचाउने योजना बनाएको स्थानीयको आरोप छ । यसका लागि शिवजीले सुरभी मुखियालाई प्रयोग गरेको स्थानीयको कथन छ । भोगेन्द्रकी श्रीमती नुहाइरहेको अवस्थामा सुरभी मुखियाका छोराले भिडियो बनाउन खोज्दा त्यसलाई योगेन्द्रले रोक्न खोजेपछि शिवजीसहित सबैले मिलेर कुटपिट गरेर मारेको स्थानीयको आरोप छ ।

सोमबार स्थानीय ४५ वर्षीय सुरभी मुखिया र उनका २१ वर्षीय छोरा नागेश्वर कुमार मुखियाले सोही स्थानका ४५ वर्षीय भोगेन्द्र ठाकुर र उनकी श्रीमती अन्दाजी ३५ वर्षीय चान्दी ठाकुरलाई कुटपिट गर्दा कुटपिटबाट ठाकुर दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो । घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याइएकामा भोगेन्द्रको उपचारक्रममा मृत्यु भएको हो । १२ बजेर ४५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मिटरब्याज पीडित संघर्ष समितिमा आवद्ध मधेश प्रदेशभरिका पीडित जनकपुरधाममा जम्मा भएका छन् । उनीहरुले पीडितले न्याय नपाएसम्म शव नबुझने भन्दै शव जनकपुरको स्वर्गद्वारीमा राखिएको छ । संघर्ष समितिका अध्यक्ष मनोज पासमानले घटनाका दोषी रहेका शिवजी यादव, मुकेश मुखिया, सुरभी मुखिया, नागेश्वर मुखिया, चान्दी मुखिया, मनिष मुखिया पक्राउ नपरेसम्म शव नबुझ्ने र शुक्रबार जनकपुरमा वृहत् विरोध प्रदर्शन गर्ने जानकारी दिए । उनले मिटरब्याजी साहुको कारणले नै उनको हत्या भएको भन्दै दोषीलाई कारबाही माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनामा संग्लन रहेका केहीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउँदै घटनाको विवाद मात्रै होइन सबै कोणबाट अनुसन्धान भइरहेको बताए । उनले मृतककी श्रीमतीसमेत घाइते रहेको र उनीसँगसमेत बयान लिएर छानबिन अगाडि बढाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button