
बढ्दो शहरीकरण र जनसंख्याका कारण जनकपुर उपमहानगरपालिकामा फोहोरको मात्रा बढ्दै गएको छ । केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक सात मेट्रिक टनसम्म फोहोर संकलन हुने गरेकामा पछिल्लो समय दैनिक १० मेट्रिक टनसम्म संकलन हुने गरेको छ ।
पर्याप्त जनशक्ति नदिइएकाले अग्रसरता लिएर काम गर्न सकिएको छैन, वडामा जिम्मेवारी नै आएको छैन ।
– निरजकुमार साह, वडाअध्यक्ष, जनकपुरधाम–७
गुठीका कारण चाहेर पनि फोहोर व्यवथापन गर्न सकिएको छैन तर सेवाप्रवाहमा भने व्यापक सुधार आएको छ ।
– मनोजकुमार साह, नगर प्रमुख, जनकपुरधाम उपमहानगरपालिका
वीरेन्द्र रमण
जनकपुरधाम ।
‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नाराका साथ स्थानीय तहका जनप्रतिनिधि आए पनि उनीहरु जनताको आवश्यकता र औचित्यका आधारमा योजना सञ्चालन गर्नुको साटो आफ्नो सुविधा मात्रै थप्ने काममा सरिक भइरहेका खबर बेलाबखत आइरहन्छन् । स्थानीय तहको निर्वाचनताका अधिकांश उम्मेदवार जनकपुरको फोहोरको समस्यालाई प्रमुखताको साथ एजेण्डा बनाएर जनतामा गएका थिए । तर निर्वाचन जितेको तेस्रो वर्ष पुग्दा जनकपुरधामको फोहोरको समस्या उस्तै देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि थप सुविधाभोगी बन्दै सरकारी कोष दोहनमा मिलेमतोमै सक्रिय सहभागी देखिन्छन् ।
उनीहरुले एक वर्षमा २ करोड ८० लाख रुपैयाँ केबल इन्धनमा मात्रै खर्च गरेका छन् । महालेखाले हरेक वर्ष स्थानीय तहमा हुने गरेको इन्धनको दुरुपयोग रोक्न सचेत गराउँदासमेत स्थानीय तहले यसमा कुनै चासो देखाएको पाइँदैन । आर्थिक वर्ष २०८०–८१ मा उनीहरुले पदाधिकारीले १५ लाख र कार्यालय प्रयोजनाको लागि २ करोड ६५ लाख रुपैयाँ इन्धनमा खर्च गरेका छन् ।
कार्यालय प्रयोजनका लागि खर्चको इन्धनमध्ये सबैभन्दा बढी फोहोर व्यवस्थापनमा गरेको देखाइएको छ । तर जनकपुरधामको फोहोर व्यवस्थापनमा भने कुनै उल्लेख प्रगति हुनसकेको छैन । मधेश प्रदेशको राजधानी जनकपुरधाम घोषणा भएपछि जनकपुरमा धार्मिक, राजनीतिक र शैक्षिक गतिविधि बढेका छन् भने धार्मिक नगरीसमेत भएकाले पर्यटकको समेत आवागमन वृद्धि भएको छ । स्वच्छ र सफा जनकपुर बनाउने बाचाका साथ निर्वाचित भएका जनप्रतिनिधिको ध्यान भने सफाइमा गएको देखिँदैन । उनीहरुले फोहोर व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखे पनि कार्यान्वयन भने भएको देखिँदैन । जनकपुरधाममा सदा झैँ फोहोरको समस्या प्रमुख चुनौती बनिरहेकै छ ।
डम्पिङ साइट अभावले सडकमा फालिएको जथाभावी फोहोरले जनकपुरधाम कुरुप बनिरहेको छ ।सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकुलता थपेको छ । स्थानीय देवीचोकका राजीव कर्णले फोहोर सडकमै रहेकाले सडक छेउछाउ नै दुर्गन्धित बन्ने गरेको बताए । उनले जनकपुरधाम उपमहानगरपालिकाको ध्यान नगएको आरोप लगाए । उनले फोहोर व्यवस्थापनका लागि ट्र्याक्टरसमेत राखिएको तर महिनामा कहिलेकहीँ मात्रै आउने गरेको बताए । देवीचोककै अर्का स्थानीय राकेश साहले मठमन्दिर छेउछाउको अवस्था फोहोरले कुरुप भएको र अन्य ठाउँको अवस्था कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिने बताए । उनले पनि सरोकारावला निकायको ध्यान नगएको बताए ।
जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले निर्वाचित भएपछि पहिलोपटक फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी वडा कार्यालयलाई दिने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयन हुनसकेको छैन । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष निरजकुमार साहले आफूहरुलाई पर्याप्तरुपमा जनशक्ति नदिइएका कारण काम गर्न समस्या भरहेको बताए । उनले पहिला जस्तो अवस्था थियो, त्यसैअनुसारले चलिरहेको र वडामा केही जिम्मेवारी नआएको बताए । उनले वडाले अग्रसरता लिएर काम गर्न नसकेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले गुठीका कारण चाहेर पनि फोहोर व्यवथापन गर्न नसकिएको तर सेवाप्रवाहमा भने सुधार आएको बताए । ‘केन्द्रीय गुठी संस्थानले फोहोर व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकालाई जग्गा उपलब्ध नगराउँदा यहाँको फोहोर व्यवस्थापनको समस्या समाधान हुन नसकेको हो,’ उनले भने, ‘फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराइदिनेबारे संस्थालाई पत्राचार गरेको वर्ष दिनभन्दा बढी भयो तर, केन्द्रीय गुठी संस्थानले जग्गा उपलब्ध नगराउँदा फोहोर व्यवस्था हुन सकेको छैन ।’
फोहोर व्यवस्थापनमा सुधार गरेको बताउदै उनले विगतको भन्दा अहिले फरक भएको बताए । बढ्दो शहरीकरण र जनसंख्याका कारण जनकपुर उपमहानगरपालिकामा फोहोरको मात्रा बढ्दै गएको छ । केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक सात मेट्रिक टनसम्म फोहोर संकलन हुने गरेकामा पछिल्लो समय दैनिक १० मेट्रिक टनसम्म संकलन हुने गरेको छ ।






