‘जनतामा व्याप्त निरासा चिर्न एमाले–कांग्रेसको सरकार’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
उद्योग, वाणिज्य तथा आपूर्णिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय राजनीति संकट र अन्यौलपूर्ण बन्दै गएपछि नदीको दुई किनारा बनेका कांग्रेस एमाले एकै नदीको संगम बनेर अगाडि बढेको र यसले जनतामा उत्पन्न निरासा अन्त्य गरेको दाबी गरेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ३१ मा स्थापना गरिएको गोल्छा अर्गनाइजेसनको हुलास स्टिलको ग्याल्भनाइजिङ इकाइको सोमबार उद्घाटन गर्दै मन्त्री भण्डारीले जनतामा देखिएको निरासा चिर्दै आशामा बदल्न सरकार अगाडि बढेको दाबी गरे ।

उनले समृद्ध मुलुक निर्माणका लागि उद्योग, व्यापार क्षेत्रलाई संकटमुक्त बनाउनु पर्ने कुरामा जोड दिँदै नेपालको उद्योग क्षेत्र संकटमा पर्दा रोजगारी र उत्पादन घट्दै गएकामा चिन्ता व्यक्त गरे । उद्योगमन्त्री भण्डारीले व्यापार घाटा बढदै गएको र वार्षिकरुपमा एक खर्ब रुपैयाँ भन्दा बढीको कृषिजन्य उत्पादन आयात भइरहेकाले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अबको एक दशक कृषि दशकका रुपमा मनाउने निर्णय गरेको बताए । उनले खाद्यान्न, फलफूल आयातलाई रोकेर निर्यात गर्नसक्ने अवस्थामा पुर्याउन मधेश प्रदेशलाई व्यावसायिक कृषितर्फ केन्द्रित गर्नु पर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले उद्योग सञ्चालनका लागि मन्त्रालयमै थुप्रै जटिलता रहेको र मन्त्रालय नीतिगत सुधारलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताए । उनले तीन तहका सरकार प्रतिपक्ष, सत्तापक्ष अब एकै गतिमा अगाडि बढेर मुलुकलाई समृद्धितर्फ लैजानु पर्नेमा जोड दिँदै सबै आआफ्नो जिम्मेवारी तथा जनउत्तरदायित्व पुरा गर्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बारा–पर्सा औद्योगिक करिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए । उनले औद्योगिक करिडोरमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको बताउँदै बिस्तारै स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी दिलाउनुपर्ने आवश्यकता रहेको बताए । मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रलाई आवश्यक जनशक्ति तयार पार्न प्रदेश सरकारको लगानी र सहयोगमा कुनै कमी नहुने बताउदै स्थानीय नागरिकले रोजगारी पाउँदा वैदेशिक रोजगारीमा जाने र बेरोजगारीको संख्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गोल्छा अर्गनाइजेसनका हितेश गोल्छाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका सांसद किसान श्रेष्ठ, बारा पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख, राजनीतिक दलका नेताहरु, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button