
मधेशदृष्टि
सर्लाही ।
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादकै कारण गरिएको पाइएको कछ । साउन ६ गते राति चन्द्रपुर नगरपालिका– १ रत्नपुरस्थित घरमा रायको हत्या भएको थियो । प्रहरीले रायको हत्यामा संलग्न भएको भन्दै घरमै काम गर्ने २५ वर्षीय रामउजैन राय र छिमेकी ४६ वर्षीय वीरेन्द्र राय यादवलाई सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हत्याको योजनाकार छिमेकी वीरेन्द्र हुन् र उनकै योजना र प्रलोभनमा कामदार रामउजैनले पूर्वराज्यमन्त्री रायको हत्या गरेको पाइएको छ ।
अनुसन्धानक्रममा करिब एक महिनाअघि पूर्वराज्यमन्त्री रायका छिमेकी वीरेन्द्रले राम उजैनलाई रायको घर जग्गाको नक्सा झुक्याइ मागेर फोटो र भिडियो बनाएको पाइएको थियो । वीरेन्द्रले पूर्वराज्यमन्त्री रायको पक्की घर आफ्नो जग्गा मिचेर बनाएको आरोप लगाउँदै आएका थिए ।
घटनाको केही दिनअघि मात्र वीरेन्द्रले रायको हत्या योजना बनाएको र उनले रायको घरमा काम गर्ने रामउजैनलाई नै रोजेको अनुसन्धानमा खुलेको छ । दुईलाख रुपैयाँ र व्यवसायका लागि एउटा फर्म खोलिदिने प्रलोभनमा राम उजैनले हत्याको सुपारी लिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका वीरेन्द्र र रामउजैनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ ।






