सखुवाप्रसौनीमा टेण्डरबिनै २८ लाखको सामान खरिद

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाले विनाटेण्डर सामान खरिद गरेर आफन्तलाई मोटो रकम भुक्तानी गरेको पाइएको छ । पटकपटक विवादमा आइरहने र आर्थिक अनियमितताको आरोप लागिरहने सखुवाप्रसौनी गाउँपालिकाका जनप्रतिनिधिका बदमासीहरु एकपछि अर्को बाहिर आइरहेका छन् ।

पछिल्लो विवरणअनुसार, सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका जनतालाई खानेपानीको सुविधा दिने बहानामा राज्यको ढुकुटीमा तर मार्ने काम गरेको पाइएको छ । खानेपानीका लागि धारा जडानका सामानहरु खरिद गरेर पालिकाले २८ लाख १४ हजार १ सय रुपैयाँ भुक्तानी गरेको देखिएको छ । तर सामान्य नियमकानुनलाई पनि पालिकाले खिल्ली उडाएर विनाटेण्डर, इटेण्डर यति ठूलो भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको रिपोर्टमै विकास निर्माणका नाममा विना प्रतिस्पर्धा मोटो रकम भुक्तानी गरिएको पाइएको उल्लेख छ ।

महालेखाले नै यस्तो अपारदर्शी, आर्थिक तथा वित्तीय सुशासनको खिल्ली उडाउने काम नगर्न पालिकालाई सुझाएको छ । एकातिर पालिकाले यसरी लाखौँ रुपैयाँ विनाप्रतिस्पर्धा भुक्तानी गरेको पाइएको छ भने अर्कातिर पालिकाका वडाबासीले खानेपानीको सुविधा नपाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । स्थानीय सर्वसाधारणले पालिकाले पटकपटक यस्तो बदमासी गरेको खबर बाहिर आइरहेको र यसपटक पर्सा क्षेत्र नम्बर ३ बाट पनि केन्द्रीय सरकारमा मन्त्री भएकाले निष्पक्ष छानबिन गर्न अनुरोध गरेका छन् । उनीहरुले पालिकाले खरिद गरेको खानेपानीका धाराहरु जडान त के वडामासमेत नपुगेको र विनाप्रतिस्पर्धा किनिएको मात्रै होइन, किनिएको भनिएको सामान पनि वडासम्म नपुगेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा पालिकाले खरिद गरेको सामान वडासम्म पुगेको कसले देखाउन सक्छ भनेर प्रश्नसमेत गरिएको छ । उनीहरुले किन्दै नकिनिएको सामानको भुक्तानी गरेर पालिकाले आर्थिक अनियमितता गरेकाले छानबिन माग गर्दैै पर्साबाट यसपटक धेरै मन्त्री भएको र पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता पनि मन्त्री भएकाले यस्तो अपराधजन्य कामको छानबिन गरिदिन स्थानीयले फेसबुकमार्फत अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button