होटल व्यवसाय प्रवद्र्धन आवश्यकः मुख्यमन्त्री

योजना सञ्चालनमा ढिलाइ नगर्न निर्देशन

[mashshare]

मिश्रीलाल मधुकर
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जानकी मन्दिरलाई धार्मिकस्थलको रुपमा स्थापित भएको र विश्वको करोडौँ हिन्दूको धार्मिकस्थल जानकी मन्दिर भएकाले नेपाल र भारतबाट पर्यटकको घुइँचो लागेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औँ साधारण सभामा उनले भने, ‘अब होटल व्यवसायमा प्रवद्र्धन वृद्धि आवश्यक छ ।’ मुख्यमन्त्रीले मधेश प्रदेश कृषिप्रधान प्रदेश भएको बताए । उनले कृषि उत्पादनसँग सम्बन्धित व्यवसायमा जोडिनुपर्ने र साना तथा घरेलु उद्योग पनि प्रवद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार साहले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशसभा सांसद रामाशिष यादव, नीति तथा योजना आयोगका उपाध्यक्ष सोहनकुमार साह, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, जनकपुरधामका मेयर मनोजकुमार साह, नेपाल औषधी व्यवसायी संघ धनुषाका अध्यक्ष प्रमोदकुमार अग्रवाल, जनकपुरका अध्यक्ष डा. कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बजरंग साह, रमेशकुमार साह, ई.प्रकाशचन्द्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद साह, उपाध्यक्ष मनिष रमण साहको उपस्थिति थियो ।

कार्यक्रममा अम्बुप्रसाद साह, नेपाल पत्रकार महासंघका अध्यक्ष मोनिका झा, जनकपुर अञ्चल व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरी, औषधी व्यवसायी संघ धनुषाका अध्यक्ष प्रमोद कुमार अग्रवालले पनि मन्तव्य राखेका थिए ।

योजना सञ्चालनमा ढिलाइ नगर्न निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमीकमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका छन् । मधेश शिक्षा तथा संस्कृति मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले चालु आर्थिक वर्षमा समयमै अख्तियारी पठाइएकाले योजना सञ्चालनमा ढिलाइ नगर्न मन्त्रालयका सचिवसहितका कर्मचारीलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले भने, ‘तपाईंहरू काम गर्नुहोस्, कामका लागि वातावरण बनाउने जिम्मा मेरो छ ।’ तर, काममा ढिलासुस्ती सह्य नहुने प्रस्ट्याउँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित्त भएर नतिजामुखी कार्य गर्नुपर्ने बताए ।

शिक्षा तथा संस्कृति मन्त्रालयले गत आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च गरेको छ । कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने बताइन् । प्रदेशमा विकास कार्यलाई गति दिन मन्त्री तथा कर्मचारीबीच समन्वय गरेर बढ्नुको विकल्प नरहेको मन्त्री तिवारीले बताइन् ।

शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले सुख सुविधाभन्दा आफूले कामलाई प्राथमिकता दिएकाले जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्न निर्देशन दिइन् । ‘तपाईंहरू कार्य अगाडि बढाउनुस्,’ उनले भनिन्, ‘बाधा अवरोध फुकाउने जिम्मा मेरो छ ।’ काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री तिवारीले आफू सुखसुविधाका लागि नभएर काम गर्न आएकाले कामप्रतिको बेवास्ता नगर्न पनि कर्मचारीलाई निर्देशन दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button