
मधेशदृष्टि
वीरगंज ।
नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक महिला मुख्यसचिव बनेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा पहिलो पटक महिलाले नेतृत्वको अवसर प्राप्त गरेको हो ।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई गत असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनै गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् । उनी अबको करिब ३५ दिन मात्र उनी मुख्यसचिव रहनेछिन् । २०२३ साल भदौ १५ मा तेह्रथुमको साविकको पिप्ले हाल म्याङलुङ गाउँपालिकामा जन्मिएकी लीलादेवीले नेपाल ल क्याम्पसबाट आईएल र बीएल पास गरेकी छन् । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन् । शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव, २०७७ मा सचिव बनेकी थिइन् ।
योजना आयोगको उपाध्यक्ष र ६ सदस्य नियुक्त
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र ६ जना सदस्य नियुक्त गरेको छ । योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै, आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई पनि नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।






