
मधेशदृष्टि
वीरगंज ।
वीरगंजस्थित नारायणी अस्पतालको अस्पताल विकास समितिका अध्यक्षले आईसीयूमा कार्यरत स्टाफ नर्सलाई अभद्र व्यवहार गरेको भन्दै छानविन गर्न माग गरिएको छ । अस्पतालको आइसीयु कक्षमा कार्यरत स्टाफ नर्सले समितिका अध्यक्ष धिरज कुमार गुप्ताले ‘डिउटी आवरमा’ राति ११ बजेदेखि करिब पौने १२ बजेसम्म पटकपटक फोन गरेर धम्की दिनुको साथै मानसिक तनाव समेत दिएर अभद्र व्यवहार गरेको पीडितले दिएको उजुरीमा आरोप लगाइएको छ ।
नारायणी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) लाई सम्बोधन गर्दै पीडितले ३५४८ नम्बर दर्ता गराइएको उजुरी पत्रमा समितिका अध्यक्ष धिरज कुमार गुप्ताले अबेर राति पटक पटक फोन गरेर, के गरेको किन बसेको, किन पढेकोलगायत अस्वभाविक प्रश्न सोधेर मानसिक तनाव दिएको उजुरीकर्ता नर्सले पत्रमा आरोप लगाएकी छन् ।
गत वैशाख १६ गते दिइएको उजुरीमा थप छानविनका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, नारायणी अस्पताल प्रमुख र अस्पतालको नर्सिङ्ग प्रमुखलाई बोधार्थ गरिएको छ । तर, घटनाबारे हालसम्म कुनै कारबाही प्रकृया अगाडि बढाइएको छैन ।






