आन्दोलनले आँखा अस्पताल धरासायी

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
कुनै समय आँखा उपचारमा छुट्टै पहिचान र प्रतिष्ठा बनाएको जानकी आँखा अस्पतालमा देखिएको राजनितिक हस्तक्षेप र अराजकताका कारण अस्पताल अस्तव्यस्त बनेको छ । विभिन्न व्यक्तिले सञ्चालन गरेको आन्दोलन र धर्नाले अस्पतालको सेवा अवरुद्ध भएको छ भने सेवा लिन आउने बिरामीलाई समेत सास्ती भइरहेको छ ।

सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिका नाममा अस्पतालभित्र भइरहेको धर्नाका कारण अस्पतालको सेवा प्रभावित भएको हो । उनीहरुले जानकी आँखा अस्पतालमा काम गरेका चिकित्सकको तलब तथा भत्ता पाउनुपर्ने र पुनःबहाली हुनुपर्ने, नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सदस्यता इच्छुक व्यक्तिलाई तुरुन्त प्रदान गर्नुपर्ने, अस्पतालको बेथितिको मुख्य कारक सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर डा. आशिष बोहरा भएकाले बर्खास्त गर्नुपर्ने, जानकी आँखा अस्पताल तथा नेपाल रेडक्रस सोसाइटी धनुषाको भ्रष्टाचार छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेका छन् । यस्तै, आँखा अस्पताललाई नेपाल रेडक्रस सोसाइटीको मातहतबाट हटाइ स्वायत्त संस्था बनाउनुपर्ने, आँखा अस्पतालको वर्तमान समिति विघटन गरी मधेश प्रदेश सरकारको मातहतमा सञ्चालन गराउनु पर्ने माग पनि राखिएको छ ।

समितिले केही दिनपहिले अस्पतालमा बिरामी जाँचिरहेको अस्पतालका डाइरेक्टर बोहरालाई कार्यकक्षमा पुगेर कुटपिट गरेका थिए । अस्पतालमा आन्दोलन र तालाबन्दीका कारण केही चिकित्सक रुखमुनि बिरामी जाँचिरहेका छन् । अस्पतालका कोषाध्यक्ष धिरेन्द्र मोहन झाले अस्पतालमा हुने गरेको बेथिति र अनियमितताका विषयमा पटकपटक आवाज उठाउँदा सुनुवाइ नभएको बरु अस्पताललाई अनियमितताको केन्द्र बनाइएको आरोप लगाए । उलने आफूहरुको आन्दोलन अस्पताललाई बन्द गरेर सेवा सञ्चालन नै नहुन नदिने नभई अस्पताललाई सुधार गरेर गुणस्तरीय बनाउनु रहेको बताए । उनले भने, ‘अस्पताललाई अध्यक्ष नरेश सिंहले अनियमितताको केन्द्र मात्रै नभएर धरासायी बनाएका छन् ।’ अन्दोलनरत डा.सन्तोषकुमार साहले अस्पतालका मेडिकल डाइरेक्टर आषिश बोहराले तलब रोक्का मात्र नभई आफूलाई ठगी गरेको आरोप लगाए । आफू भरतपुरको आँखा अस्पतलामा कार्यरत हुँदा बोलाएर नियुक्तिसमेत नदिएको र शुरुमा तोकेको तलब घटाउँदै लगेको बताए ।

प्रमुख बोहराले प्रशासनमा ताला लगाउने चिकित्सकको कार्यकक्षमै गएर हातपात गर्ने, ढोका फुटाउने जस्ता क्रियाकलाप हुँदा चिकित्सको ज्यान जोखिममा राखेर सेवा दिन नसकिने बताए । २०३८ चैत १७ गते समाजसेवी मकेश्वरप्रसाद सिंहको नेतृत्वमा गठिन समितिको सोच र योजना तथा उनको अग्रसरताले अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएपछि तराई मधेशका मात्र नभई सीमावर्ती भारतका समेत विभिन्न जिल्लाका बिरामीलाई विश्वसनीय सेवा दिइरहेको अस्पतालमा १ सय २५ कर्मचारी दरबन्दी छ । अस्पतालमा करार र स्थायी गरी ४७ कर्मचारी मात्रै कार्यरत छन् । करारका कर्मचारीको म्याद थपलाई लिएर विवाद सिर्जना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button