
सबैभन्दा बढी आयात निर्यात हुने छिमेकी मुलुक भारतसँग व्यापार घाटा ८ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ छ भने अर्को छिमेकी चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपैयाँ व्यापार घाटा देखिएको छ । नेपालीले सबैभन्दा बढी आयात गरेको एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख रुपैयाँको डिजेल, ६८ अर्ब १० करोड २० लाख रुपैयाँको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्यासबाट हामी के उत्पादन गरेर नाफामा जान सक्छौँ जबकि नेपालीले स्मार्टफोनमात्र २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको किनेका छन् । हाम्रो आम्दानी कस्तोमा लगानी भइरहेको छ भनेर चिन्तन गर्न ढिलो भइसकेको छ ।
मधेशदृष्टि
काठमाडौँ ।
देश आर्थिक संकटमा परिरहेको छ । यसलाई सुधार गर्ने भनेर सबै सरकारले भने पनि सुधारको बाटोमा छैन । आर्थिक वर्ष २०८०–८१ मा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा घाटा मात्रै १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँको वस्तु आयातमा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको मात्रै निर्यात भएको पाइएको छ ।
राससको समाचार अनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घट्दै गएको छ । आर्थिक वर्ष २०७९–८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । एक खर्ब ५७ अर्ब १४ करोड छ लाख रुपैयाँ बराबरको निर्यात गर्दा वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ पुगेको थियो ।
अघिल्लो आर्थिक वर्षको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ थियो । त्यसको तुलनामा गत आर्थिक वर्षमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै भारतसँग नै व्यापार घाटा देखिएको छ । भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब तीन अर्ब १७ करोड रुपैयाँ बराबर मात्रै निर्यात भएको छ । भारतसँगको मात्र व्यापार घाटा आठ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ छ ।
नेपालको अर्को छिमेकीमुलुक चीनसँग दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपैयाँ बराबर व्यापार घाटा देखिएको छ । चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा संयुक्त अरब इमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँं स्थानमा छ ।
व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आर्थिक वर्षमा नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । ४६ करोड ७५ लाख रुपैयाँ व्यापार नाफा देखिएको छ ।
बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ । सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ बराबरको डिजेल आयत भएको छ । ६८ अर्ब १० करोड २० लाख रुपैयाँको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । ३९ अर्ब तीन करोड ४३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
त्यस्तै, २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आर्थिक वर्षमा नेपालले सबैभन्दा धेरै १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र सात अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बराबरको अलैँची निर्यात गरेको छ ।






