नगर प्रहरीले गरे व्यापारीमाथि हातपात

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाका नगर प्रहरीले वीरगंज, पावर हाउसनजिक रहेको प्राइम अटो ट्रेडर्सका सञ्चालक संदीप गुप्तामाथि हातपात गरेपछि उद्योगी व्यापारीले आक्रोश पोखेका छन् । गुप्ताले महानगरपालिकाको ट्रयाक्टरमा फोहोर पठाउन आफ्नै अफिसको जमिनमा राखेको फोहोरको विषयमा नगर प्रहरीले बिनाकारण ज्यादती गरेको बताएपछि यसले अरु असन्तुष्टि बढेको हो ।

गुप्ताले केही नगर प्रहरी अफिसको क्याबिनमा गुण्डागर्दी शैलीमा प्रवेश गरी जबर्जस्त ५ हजार रुपैयाँको चिट काट्न लगाएको बताए । उनले महानगरपालिकाले कुन नीतिनियमका आधारमा यस्तो कदम चालेको भनेर प्रश्न गर्दा नगर प्रहरीले उनलाई अपहरण शैलीमा वीरगंज महानगरपालिका कार्यालय पुर्याएको बताए । गुप्ताले महानगरको यो प्रवृत्तिले महानगरमा ‘अशल’हरु ‘मसल’सँग डराउनु पर्ने दिन आएको महसुस भएको बताए।

उनले भने, ‘न हामी अपराधी हौँ, व्यापार व्यवसाय गरेका छौँ, व्यापारीको करबाटै महानगर चल्ने हुँदा मनलाग्दो फाइन काट्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा सार्वजनिक गरेर अपमान गर्ने काम कुनै ऐननियममा छैन ।’ गल्ती गरेको भए नियमअनुसार जरिवाना काट्ने अधिकार रहेको बताउँदा भिडियो बनाई चरित्रहत्या गरेको र यस्तो अधिकार महानगरलाई नभएको उनले बताए ।

नगर प्रहरीले भिडियो बनाई सार्वजनिक गर्ने धम्की दिएपछि गुप्ता रिसाएका थिए र भिडियो बनाउन प्रतिकार गरेका थिए । गुप्ताले नगर सरसफाइको जिम्मा पाएका नगर प्रहरीले मिना बजार, बिपी पार्क र फुटपाथमा ध्यान केन्द्रित गर्नुको साटो आमव्यापारी तर्साएर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए । शहरको मुख्य बजार मिना बजारमा व्यापारीले सडक नै अवरोध गरी व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यस्तै, बिपी पार्कमा पनि तरकारी तथा फलफूल व्यवसायीसँग मासिक लाखौँ रकम उठाउँदै गरेको आरोप नगर प्रहरीमाथि लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button