ओली सरकारमा एक चौथाइ मधेशका मन्त्री

दुई महिला, दलित र मुस्लिम शून्य

[mashshare]

महेश कठायत
वीरगंज ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुरुप केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री पदको शपथ लिएसँगै ओलीले चार दलबाट २१ जना मन्त्री समेटेर मन्त्रिमण्डल गठन गरेका छन् । कांग्रेस, एमालेसहित गठबन्धन सरकारमा मधेश केन्द्रित दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी बनेको छ ।

दुई उपप्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डलमा सबैभन्दा धेरै ६ जना मधेश प्रदेशबाट मन्त्री बनेका छन् । मधेश प्रदेशको पर्सा जिल्लाका ३ सांसद, सप्तरीका २ सांसद, महोत्तरीका एक सांसद मन्त्री बनेका हुन् । दलीय आधारमा हेर्दा मधेश प्रदेशबाट मन्त्री बनेका ६ जना मन्त्रीमध्ये कांग्रेसका २, एमालेका १, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद छन् ।

पर्सा–१ बाट निर्वाचित सांसद जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानी मन्त्री, पर्सा–२ बाट निर्वाचित सांसद नेपाली कांग्रेसका अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा–३ बाट निर्वाचित सांसद नेकपा एमालेका राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका हुन् । उनीहरुको वरियता, क्रमशः ८, १५ र २१ छ ।

त्यस्तै, सप्तरी–४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी युवा तथा खेलकूद मन्त्री, सप्तरी–१ बाट जनता समाजवादी पार्टीका नवलकिशोर साह सुडी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री र महोत्तरी–२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

दुई महिला, दलित र मुस्लिम शून्य
केपी शर्मा ओली नेतृत्व नवगठित सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ मन्त्री छन् । प्रधानमन्त्री ओलीले विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री र प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

२२ सदस्यीय मन्त्रिमण्डलमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र शिक्षामन्त्री विद्या भट्टराई मात्रै महिला मन्त्री छन् । मन्त्रिमण्डलमा दलित समुदायबाट एक जना पनि समेटिएका छैन । कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमालेका छविलाल विश्वकर्मा मन्त्री बन्ने चर्चा भए पनि मन्त्रिमण्डलमा अटाउन सकेनन् । त्यस्तै, मन्त्रिमण्डलमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व हुन सकेन । संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइने सुविधा दिएकोले प्रधानमन्त्रीले अब ३ जना राज्यमन्त्री मात्र नियुक्त सक्नेछन् ।

पहिलो पटक मन्त्री बन्नेहरु
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नौ सांसद पहिलोपटक मन्त्री बनेका छन् । दुई उपप्रधानसहित २२ सदस्यीय मन्त्रीपरिषद्मा प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये नौ जना पहिलोपटक मन्त्री बनेका हुन् ।

जसमा नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे, कृषिमन्त्री रामनाथ अधिकारी र वनमन्त्री ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् । त्यसैगरी, नेकपा एमालेबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, शिक्षामन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका हुन् ।

२०औँ पटक मन्त्री
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शरतसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । झण्डै चारदशकको अवधिमा दल बदल्दै चुनाव लड्ने गरेका भण्डारी २० औँ पटक लोकतान्त्रिक समाजवादी पार्टीबाट श्रममन्त्री बनेका हुन् । पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीन वटै व्यवस्थामा सरकारमा सहभागी भएका नेता भण्डारी २०४३ सालमा मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री भएका थिए ।

मन्त्रिमण्डल
१. केपी शर्मा ओली प्रधानमन्त्री (एमाले)
२. प्रकाशमान सिंह उपप्रधानमन्त्री तथा सहरी विकास (कांग्रेस)
३. विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थ (एमाले)
४. पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना मन्त्रालय (एमाले)
५. रमेश लेखक गृह मन्त्रालय (कांग्रेस)
६. शरतसिंह भण्डारी श्रम तथा रोजगार (लोसपा)
७. आरजु राणा देउवा परराष्ट्र (कांग्रेस)
८. प्रदीप यादव खानेपानी तथा सरसफाई (जसपा)
९. बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी (एमाले)
१०. दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति (एमाले)
११. नवलकिशोर साह सुडी महिला बालबालिका (जसपा)
१२. देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात (एमाले)
१३. तेजुलाल चौधरी युवा तथा खेलकुद (कांग्रेस)
१४. प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या (कांग्रेस)
१५. अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला (कांग्रेस)
१६. बद्री प्रसाद पाण्डे पर्यटन तथा नागरिक उड्डयन (कांग्रेस)
१७. रामनाथ अधिकारी कृषि मन्त्रालय (कांग्रेस)
१८. विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि (एमाले)
१९. मानवीर राई रक्षा (एमाले)
२०. दीपक खड्का जलस्रोत तथा ऊर्जा (कांग्रेस)
२१. राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य (एमाले)
२२. ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण (कांग्रेस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button