
महेश कठायत
वीरगंज ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले भूइँमान्छेको सहभागिता बढाउने गरी चौकीस्तरबाट आवधिकरुपमा नागरिक सुनुवाई कार्यक्रम गर्न पर्सा प्रहरीलाई निर्देशन दिएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजमा गरेको नागरिक सुनुवाईमा प्रमुख जिल्ला अधिकारी भूसालले नागरिकस्तरबाट प्राप्त सुझाव समेटेर आगामी योजना बनाई अघि बढ्न सुरक्षा निकायलाई निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी भूसालले महिला हिंसा, बालबालिकालाई लागुऔषध प्रयोग गर्न लगाउने र जातीय तथा धार्मिक विभेदका विषयमा प्रहरी प्रशासनले शून्य सहनशीलताको नीति लिएको जिकिर गरे । कार्यक्रम सहभागीले उठाएका जिज्ञासाको जवाफ दिनेक्रममा प्रमुख जिल्ला अधिकारी भूसालले विपद् व्यवस्थापन र नागरिकताको सबाल स्थानीय तहसँग पनि सम्बन्धित रहेको बताए । उमेर पुगेको व्यक्तिलाई नागरिकता दिलाउनु अभिभावकको नागरिक दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘यहाँ कतिसम्म हुन्छ भने, मेरो छोराले बिहे गरेर (बुहारी) आएको मचाहिँ नागरिकता बनाइ दिन्न भन्ने छ, अब त्यसलाई कारबाही गर्ने ? कारबाही गर्ने कानून छ, तर कारबाही गर्ने कानून लागुपर्ने हो त ?’ नागरिकता जस्तो संवेदनशील र जीवनमा एकपटक मात्र लिनुपर्ने भएकाले नागरिकता दिलाउँदा प्रशासनले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
एक प्रहरीः ५६६ जनाको सेवा
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले नागरिकको सेवामा प्रहरी सधैँ प्रतिबद्ध रहेको बताए । नागरिक सुनुवाई कार्यक्रममा एसपी ढुंगेलले सीमित स्रोतसाधनले प्रहरीको काममा कमजोरी देखिएको हुनसक्ने भए पनि त्यसलाई सुुधार गरी नागरिकको सेवामा प्रहरी सधैँ प्रतिबद्ध रहने बताए । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको कार्यालयबाट हुने कार्यसम्पादन र सेवा प्रवाहको सम्बन्धमा सेवाग्राहीको धारणा बुझी भावी रणनीति र योजना तय गर्नसके प्रहरी सेवालाई थप चुस्त बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
नागरिक सुनुवाई कार्यक्रममा सहभागीले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा एसपी ढुंगेलले पछिल्लो समय लागुऔषधको प्रयोग बढेको र त्यसले समाजमा असर पारेको भन्ने कुरामा सत्यता रहेको स्वीकार गरे । उनले भने, ‘यहाँ (वीरगंज) खुला सीमाना छ, पारि (भारत) गएर खाएर आउँछन् ।’ उनले अगाडि थपे, ‘त्यति मात्र नभएर नजिकका जिल्ला हेटौडा (मकवानपुर), चितवनबाट समेत लागुऔषध बोकेर आएर खाएको पनि पाएका छौँ, हामीले कानूनी कारबाही गरेका छौँ ।’ लागुऔषध नियन्त्रणका लागि नागरिक तथा घरपरिवार आफैँ पनि जिम्मोवार हुनुपर्नेमा उनले जोड दिए ।
वीरगंजका क्यासिनोमा नेपालीले भारतको भोटिङ कार्ड वा आधार कार्ड प्रयोग गर्ने गरेको र नेपाली नागरिकता फेला नपर्ने भएकाले कारबाही गर्न नमिलेको उनले बताए । उनले भने, ‘क्यासिनो नेपालीका लागि होइन भन्ने सबैलाई थाहा छ । तर पनि कतिपय नेपाली व्यक्ति भारतको भोटिङ कार्ड वा आधार कार्डको प्रयोग गर्छन्, त्यो विषयमा सिडिओसँग छलफल गरेर त्यहाँ स्क्यानर (कार्ड रिर्डर) राख्न पहल गर्छौँ ।’ सोक्रममा एसपी ढुंगेलले पर्सामा मोटरसाइकल चोरीका घटना बढेको र कारबाही गर्न नसकिएको स्वीकार गर्दै त्यसको कारण भारतसँगको खुला सीमाना भएको बताए । उनले भने, ‘मोटरसाइकल चोरी बढी भएको छ, यो कुरा स्वीकार गर्छौँ र कारबाही पनि गर्न सकिएको छैन । कारण हो, खुला सीमाना छ । दुई मिनेटमा बोर्डर क्रस हुन्छ । उता (भारत) गइसकेपछि ल्याउन सकिन्न । पर्साको जनसंख्याका आधारमा एक जना प्रहरीले पाँच सय ६६ जनाको सेवा गर्नु पर्नेछ । त्यसबारे पनि ख्याल गर्दिनु पर्यो ।’ मोटरसाइकल चोरीका घटना न्यूनीकरणका लागि मोटरसाइकल धनीलाई जिपिएस जडान गर्न उनले सुझाव दिए । राजस्व संकलन बढाउन तस्करी रोक्नुपर्ने कुरामा प्रहरीले जोड दिँदै आएको भन्दै उनले चोरी तस्करीदेखि लागुऔषध कारोबारका घटनाका विषयमा प्रहरीलाई विश्वास गरेर सूचना दिन आग्रह गरे ।
‘कुरा नसुन्ने प्रहरीको नियत होइन’
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले मुख्य सीमा नाकाबाट हुने अवैध सामान बरामद अहिलेसम्मकै धेरै भएको बताए । प्रहरीले अनुसन्धानक्रममा गर्ने हरेक प्रकारको चेकजाँचलाई नागरिकले सहजरुपमा लिन आग्रह गर्दै उनले भने, ‘भन्सार मेन नाकाबाट ओहोरदोहोर गर्दाखेरी हाम्रा कर्मचारीले चेकजाँच गर्छन्, त्यसलाई सामान्य नागरिक, जसलाई हामी भूइँमान्छे भन्छौँ, त्यसले विरोध गर्दैनौँ । तर अलि प्रतिष्ठा जोडिएको मान्छे सामान्य चेकजाँच गर्दा पनि त्यसबाट उत्तेजित हुने गरेको देखेका छौँ । यो नगरिदिनु होला ।’ नागरिकलाई दुःख दिने र नागरिकका कुरा नसुन्ने प्रहरीको नियत नभएको भन्दै उनले नागरिकलाई सुरक्षा दिने र अवैध कार्य हुन नदिने प्रहरीको उद्देश्य रहेको बताए ।
कार्यक्रममा नागरिक सुनुवाइको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शिता र जवाफदेहिता बोध गराउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम गरिएको बताए । नागरिक सुनुवाई कार्यक्रममा नागरिकले दिएका सुझाव, सल्लाह र जिज्ञासालाई सम्बोधन गर्दै उनले समाजमा शान्ति स्थापना गर्ने उद्देश्यसहित प्रहरीले हरेक तीन–तीन महिनामा नागरिक सुनुवाइ कार्यक्रम गरिरहेको जानकारी दिए ।
मधेशदृष्टि दैनिक, रेडियो वीरगंज तथा टिभी वीरगंजका कार्यकारी अध्यक्ष धुव्र साहले वीरगंजका क्यासिनोमा पर्सा र बाराकै नागरिक गएर खेल्ने गरेकाले प्रशासनले त्यसमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा आउने गाउँगाउँका सर्वसाधारण नागरिकलाई बिचौलियाले दुःख दिने गरेको उल्लेख गर्दै अध्यक्ष साहले नागरिकतामा सहजताका लागि पनि पहल थाल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे । कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले मन्दिर, मस्जिद र स्कूल आसपासमै युवा धुम्रपान र मध्यपानमा सरिक रहेकाले त्यस्तो कार्य रोक्न र आउने पुस्तालाई सुधार्न सबै जिम्मेवार हुनुपर्ने सुझाए ।
जिल्ला प्रहरी कार्यालय पर्साले गरेको नागरिक सुनुवाइ कार्यक्रममा सीमा क्षेत्रमा हुने तस्करी, लागुऔषधको प्रयोग तथा कारोबार, वेश्यावृतिका घटना, महिला सेलसम्बन्धी गुनासा, प्रहरी कार्यालयको सेवाप्रवाह, भन्सार चेकजाँचक्रममा नागरिकले खेप्नुपरेको सास्तीलागयका विषयमा सहभागीले प्रश्न तथा जिज्ञासा राख्नुका साथै सुझावसमेत दिएका थिए ।









