मन्त्री बर्खास्त, नेमप्लेट यथावत

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशको ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयमा बिजोग देखिएको छ । एक सातादेखि मन्त्रालयमा न मन्त्री छन् न सचिव नै । गएको शनिबार सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकी बेची लुंगेलीलाई बर्खास्त गरेका थिए ।

लुंगेलीलाई बर्खास्त गरेपनि ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयमा नयाँ मन्त्री आएका छैनन् । जनमत नेतृत्वको सरकारमा ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय नेपाली कांग्रेसको फाँटमा पर्ने सम्भावना छ । तर, मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । गएको आइतबार नै मन्त्रिपरिषद् विस्तारका लागि सहमति भइसके पनि अर्थ मन्त्रालयलाई लिएर कुरो मिल्न सकेको छैन । यसैले विस्तार हुन लागेको मन्त्रिपरिषद् एक सातादेखि अन्यौलमा छ ।

ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सिंहले नै सम्हालेका छन् । तर, मन्त्रालयको मन्त्रीको नेमप्लेटमा बेची लुंगेली कायमै छ । लुंगेली गएको शनिबार नै मन्त्री पदबाट बर्खास्त भइसके पनि उनको कार्यकक्षमा नाम भने यथावत छ । नेमप्लेट अनुसार लुंगेली मन्त्री रहेको प्रश्न गर्दा मुख्यमन्त्री सिंहले कर्मचारीको बदमासी भनेर पन्छिए । पदमुक्त भइसकेकी मन्त्रीको नेमप्लेट झुण्डयाइ राख्नु कर्मचारीको त्रुटि रहेको मुख्यमन्त्री सिंहले स्वीकार गरे ।

ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी भने आर्थिक कारोबार पूर्णरुपमा बन्द भएसँगै बिदा बसेका छन् । उनी बिदा बसेसँगै मन्त्रालयका प्राविधिक पनि आर्थिक वर्ष सकाएपछि बिदा मनाउन गएका छन् । शुक्रबार मन्त्रालयमा जिन्सी शाखा प्रमुख मुकेश यादव बाहेकका कर्मचारी कार्यकक्षमा फेला परेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button