भेटिएनन् पहिरोमा परेका दुई बस र यात्रुहरु

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
शुक्रबार बिहान ३ः३० बजेतिर चितवनको भरतपुर महानागरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरोमा बगेर त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रुबाहक बस र बसमा सवारहरुको अवस्था अज्ञात रहेको छ । शुक्रबार साँझसम्म नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी, स्थानीय प्रशासन र सर्वसाधारणले उद्धारको प्रयास जारी गरे पनि बस र यात्रु नभेटिएका हुन् । बेपत्ता भएको बस खोज्नेक्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा फेला पारेको छ । हुक लगाएर खोज्नेक्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।

पर्दा वीरगंजबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले बताए । १२ जना गोताखोरसहित ७० सशस्त्र प्रहरी र सैनिकसहित ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् । उनीहरुले शनिबार पनि बिहानैदेखि बस र यात्रुको खोजी गर्ने छन् । सिमलतालमा वीरगंजबाट काठमाडौँ गइरहेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सको बस र काठमाडौँबाट गौर आइरहेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस लेदोसहितको पहिरोमा पुरिएको हो । बस त्रिशुली नदीमा पुगेको थियो । बसबाट तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।

गणपतिमा सवार यात्रुहरु को को थिए ?
रौतहट संवाददाता सञ्जय मिश्राका अनुसार, काठमाडौँबाट गौर आइरहेको र पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्स बसमा २९ यात्रु यात्रारत रहेको पाइएको छ । उनीहरुमध्ये अधिकांशको मध्ये अधिकांशको नाम ठेगाना सार्वजनिक भएको छ ।
बागमती प्रदेश ०३–० ०१ख २४९५ नम्बरको बसमा सवार २९ यात्रुमध्ये रौतहट, देवाही गोनाही नगरपालिका–१ करुनियाका नन्दन दास, बौधिमाई नगरपालिका–३ का २६ वर्षीय सरोज प्रसाद गुप्ता, वृन्दावन नगरपालिका, सिसवा धमौराका जगेश्वर यादव क्याबिनबाट हाम्फालेर ज्यान जोगाउन सफल भएका छन् । सामान्य चोटपटक लागेका उनीहरूको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको र केही उपचारपछि घर फर्किसकेका छन् ।

बस तथा चालकसँगै बेपत्ता हुनेहरु
१. बौधीमाई नगरपालिका–१ का ७० वर्षीय बली राउत पटेल,
२. सोही ठाउँका ५५ वर्षीय हरिचन्द्र यादव,
३. सोही पालिका वडा नम्बर २ का १८ वर्षीय राज पटेल,
४. सोही पालिका वडा नम्बर ३ का ६५ वर्षीय पर्शुराम साह बनिया,
५. बनियाकी पत्नी ६० वर्षीया मिना देवी साह,
६. साही स्थानका ३५ वर्षीया रिन्कु साह बनिया
७. सोही पालिका वडा नम्बर ४ का १९ प्रिन्स जैसवाल,
८. सोही स्थानका ३५ वर्षीय अकलु राउत पटेल,
९.२७ वर्षीय गुडु पटेल,
१०. कटहरिया नगरपालिका–१ भसेरवाका २२ वर्षीय सिनोज दास
११. बसका सहचालक माधबनारायण नगरपालिका–३ सखुअवाका २२ वर्षीय लक्ष्मण यादव,
१२. यमुनामाई गाउँपालिका–४ सरुअठाका १८ वर्षीय सहुप मिया
१३. भारत, बिहार मोतिहारीका ३८ वर्षीय नरेश साह बनिया,
१४. गाडीचालक किशोर कुमार चौधरी
स्रोतः जिल्ला प्रहरी कार्यालय रौतहट
प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बसमा रहेका २९ जना यात्रुमध्ये अन्यको नाम ठेगाना आउन बाँकी रहेको बताइन् ।

सात भारतीयसहित यी हुन् एञ्जल डिलक्समा सवार यात्रुहरु
नारायणगढ मुग्लिन सडकखण्डको भरतपुर–१९ सिमलतालमा पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ । वीरगंजको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये ७ भारतीय पनि थिए ।
बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ । गाडीमा सवारहरुको परिचय यस्तो छः

१. बसमालिकः राजेन्द्र केसी
२. चालकः नगवाका जवाहिर महतो
३. सहचालक, चौधरी थरका
यात्रुहरुः
१.अन्सारीजी (भारतीय)
२. अरविन्द दुवे, वीरगंज
३. सन्तोष ठाकुर (भारतीय)
४. सुरेन्द्र साह (भारतीय)
५. आवीन्द्र मिया (भारतीय)
६. हरेन्द्र पण्डित, वीरगंज
७. सुनिल साह (भारतीय)
८. शाहनबाज (भारतीय)
९. प्रकाश पटेल (पिप्रा)
१०. प्रमानन्द पण्डित, मुसहरवा
११. विद्यानन्द नारायण राउत, जमुनिया
१२. सलिम मिया, रघुनाथपुर
१३. जैनबर खातुन, रघुनाथपुर
१४. सैफुल आलम, कटैया
१५. सुजीतजी, रामनगरी

मुटुको उपचार गर्न हिँडेका थिए मिया दम्पती
पर्साको रंगपुरबाट काठमाडौँका लागि छुटेको एन्जल डिलक्सको बसमा सवार पर्सा, रघुनाथपुरका ६० वर्षी सलिम मिया र पत्नी जैनबर खातुन उपचारका लागि काठमाडौँ हिँडेका थिए । उनीहरुले सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि समय मिलाएका थिए । यति मात्र होइन, उनीहरुको पारिवारिक स्रोतका अनुसार, उनीहरुले उपचार खर्च जोहो गरेर काठमाडौँ हिँडेका थिए । उनीहरुसँग नगद ४ लाख ९६ हजार रुपैयाँ थियो । उनीहरुलाई सहयोग गरिदिन भनेर वडा कार्यालयले लेखेको पत्र पनि थियो ।

वृद्ध दम्पतीका दुई छोरा छन् । दुवै छोरा विदेशमा छन् । एक छोरा दुबई र एक छोरा मलेसियामा छन् । बुढेसकालमा खर्च जोहो गरेर मुटुको शल्यक्रिया गर्न हिँडेका दम्पती पनि बसमा परेर बेपत्ता भएका छन् । यस्तै, सखुवाप्रसौनी गाउँपालिका दुई स्वास्थ्य कर्मचारीसहित पाँच नागरिक पनि एन्जल डिलक्समा सवार रहेको पाइएको छ ।

तीनजना पौडिएर बाँचे
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू बिहीबार साँझ ७ः३० बजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ, त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले सुनाए । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ,’ उनले थपे, ‘बस पानीमा धेरै मुनी पुगेको थियो । हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’

टाउँकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचार गररेर फर्किँदै गरेका रौतहट, गरुडा–९ का जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उहाँको परिवारका पाँचजना दुर्घटनामा परेका थिए । ‘काठमाडौँमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ, एक्कासी नसोचेको घटना घट्यो, पाँचपटक बस ठक्कर खाएर बल्ल नदीमा पुगेको थियो,’ उनले स्मरण गरे, ‘पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यहीँ डुब्नुभयो ।’

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले सुनाए, ‘जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो । बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ । सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो । हाल बेपत्ता बसको खोजिकार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button