
मधेशदृष्टि
पोखरा ।
कास्कीका विभिन्न ठाउँमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार, पोखरा–१९ तल्लाकोट टारीमा एकै परिवारका ६ जनासहित सात जनाको मृत्यु भएको छ ।
यस्तै, पोखरा–३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । उता, मादी गाउँपालिका–११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ ।
बिहीबार राति १० बजेर २० मिनेटपछि तल्लाकोट टारीका कुल बहादुर परियारको घरमा पहिरो खस्दा ४६ वर्षीय कुल बहादुर, ४३ वर्षीय मनु कुमारी, ८५ वर्षीय लक्षी, १५ वर्षीय प्रसना परियारको मृत्यु भएको हो ।
यस्तै, माइत आएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियारको पनि मृत्यु भएको छ । यस्तै, ५६ वर्षीय राधिका परियारको पनि मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षीय पवन परियार घाइते भएका छन् । कुलबहादुरका छोरा पवन भागेर बाँच्न सफल भएका हुन् ।
पोखरा–३२ चैनपुरमा आरती ओझाको घर पुरिँदा उनकी छोरी १८ वर्षीया अनिता, अर्को छोरी ११ वर्षीयाअनुष्का र दाइका छोरा प्रतीक सुवेदीको मृत्यु भएको छ । आरती उद्धारक्रममा घाइते भएकी छिन् । मादी गाउँपालिका–११ को तल्लो ताप्लेमा ८० वर्षीया माइती कुमारी गुरुङको मृत्यु भएको छ ।






