
मधेशदृष्टि
वीरगंज ।
मुआब्जा विवादको कारण बाराको मटिअर्वा–कलैया–मनमत सडकखण्ड निर्माणमा ढिलाई भएको छ । मटिअर्वा–कलैया–मनमत सडकखण्ड अन्तर्गतको कलैया उपमहागनरपालिकामा पर्ने साढे ३ किलोमीटर सडक खण्डको ५२ जना जग्गाधनीले अझै मुआब्जा बुझेका छैनन् ।
भारतको सहयोगमा २ बर्ष अघि निर्माण भएको करिब २२ किमि लामो सडक खण्डमा कलैया उपमहानगरपालिकामा बरेवादेखि भवानीपुरसम्म करिब साढे ३ किमि सडक खण्ड मुआब्जा विवादको कारण निर्माण हुन नसकेको हो । भारतको सीमादेखि पूर्व–पश्चिम लोकमार्ग जोड्ने सडक खण्डमा जग्गा परेका जग्गा धनीहरुले मुआब्जा रकम थोरै भएको भन्दै मुद्दा दिएपछि ठेकेदार सप्तकोशी जलाधार÷ओमसाइ एण्ड कम्पनीले काम गर्न सकेको छैन ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजका सूचना अधिकृत सञ्जयकुमार ठाकुरले जग्गाधनीले मुआब्जा नबुझेकै कारण ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नपाएको बताए । हाल ठेकेदार कम्पनी ठेक्काको म्याद थप प्रक्रियामा गएको र सम्पर्कमा पनि रहेकाले काम सुरु गर्न ठेकेदारको तर्फबाट कुनै समस्या नरहेको ठाकुरले बताए । तर ५२ जना जग्गाधनीले अझै मुआब्जा बुझ्न बाँकी रहेकाले ठेकेदार कम्पनीलाई काम सुरु गर्न समस्या भएको छ ।