
मौलापुर नगरपालिका–१ स्थित लालबकैया नदीको बाँधमा झण्डै सातसय मिटर क्षेत्रमा क्षति पुगेको छ । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यसपटक आवश्यक बजेट व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिनुपर्ने अवस्था देखिएको छ ।
सञ्जय मिश्रा
रौतहट ।
मनसुन सक्रिय भएसँगै दैनिकजसो आउनेगरेको बाढीको पानीले लालबकैया नदी र बागमती नदीको बाँधका कैयौँ स्थानमा क्षति पुर्याएको छ । मौलापुर नगरपालिका–१ स्थित लालबकैया नदीको बाँधमा झण्डै सातसय मिटर क्षेत्रमा क्षति पुगेको छ । क्षतिग्रस्त बाँधको समयमा मर्मतसम्भार नभएको अवस्थामा जिल्लाको पूवी भेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा साउन भदौमा आउने ठूलो बाढीले जनधनको अकल्पनीय क्षति हुनसक्ने सम्भावना देखिएको छ ।
लालबकैया नदी नियन्त्रणका लागि मौलापुर नगरप्रमुख मेयर रिना कुमारी साहको भूमिका सराहनीय रहँदै आएको छ । वर्षातको शुरूवातमै लालबकैया नदीको बाँधमा समस्या देखिएपछि नगरप्रमुख साहको अनुरोधमा सोमबार रौतहट जिल्ला विपद् व्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपूर्ण बाँध निरीक्षण तथा अनुगमन गरिएको छ ।
मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा सिडियो हीरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आमविद्यार्थी मोर्चाका अध्यक्ष विवेक कुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दाससहितको टोलीले मौलापुर–१ मर्यादपुरस्थित बाँध निरीक्षण गरेको हो ।
टोलीले बाँधमा देखिएका समस्या समाधान गर्न समयमा पहल गरिने प्रतिबद्धता व्यक्त गरेको छ । मर्यादपुर छेउ लालबकैया नदीको बाँधमा झण्डै सातसय मिटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यसपटक आवश्यक बजेट व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिनुपर्ने अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिए ।
मर्यादपुर छेउको बाँधमा नदीको पानी भन्दा पनि वर्षाको पानीले क्षति पुर्याएको अनुगमन टोलीको निष्कर्ष छ । लालबकैया र बागमती नदीको कैयौँ स्थानमा बाँधमा देखिएको क्षतिको वर्षात शुरुअघि नै मर्मत गर्नुपर्ने आवश्यकता रहेको स्थानीयले बताए ।






