
सञ्जय मिश्रा
रौतहट ।
पटकपटक आर्थिक विवादमा पर्दैआएका कटहरिया नगरपालिकाका निलम्बित मेयर अजय प्रकाश जयसवाल कार्यपालिकाका साधारण महिला सदस्यलाई कार्यबाहक मेयर बनाउने चलखेलमा लागेका छन् । जैसवालसँगै उपमेयर रीता देवी यादवसहित ११ जना एकैपटक निलम्बनमा परेपछि आफूअनुकुलका कार्यबाहक मेयर बनाउने चलखेलमा निलम्बित मेयर जयसवाल लागेका हुन् ।
केही समर्थक, नगर कार्यपालिका सदस्यलाई बिहीबार अबेर राति आफ्नै घरमा बोलाएर जयसवालले एकजना निरक्षर महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिइएको निर्णय गराएका थिए । घरमै बसेर राति गरिएको निर्णयपछि मुसहर समुदायकी महिला कार्यपालिका सदस्य शुक्रबार मेयरको कुर्सीमा बस्ने योजनासहित कटहरिया नगरपालिका पुगेकी थिइन् । तर बहुमतसहित नगर कार्यपालिका सदस्यले बिरोध गरेपछि गोप्य तरिकाले गरिएको निर्णय नगरपालिकामा दर्ता हुन नसकेको वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले बताए । वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र साह, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद, ७ का अध्यक्ष महमद सहिद, ९ का अध्यक्ष रुपेश यादवसहित उपस्थित १४ कार्यपालिका सदस्यले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको अध्यक्षतामा नगर कार्यपालिका बोर्डको बैठक आव्हान गर्न अनुरोध गरेका थिए ।
वडाअध्यक्षहरुको अनुरोधमा प्रधानले शुक्रबार बेलुकी ६ बजे कार्यपालिका बोर्डको बैठक आव्हान गर्दै पत्राचारसमेत गरेका थिए । पत्राचारपछि एकजना वडा नम्बर ६ का अध्यक्ष जयराम चौधरीबाहेक सबै १४ जना नगरपालिकाको सभाहलमा उपस्थित हुँदा प्रमुख प्रशासकीय अधिकृत प्रधान बैठकमा अनुपस्थित थिए । मेयर जयसवालको दबाबमा प्रधान बैठकमा अनुपस्थित भएको वडाअध्यक्षहरुले आरोप लगाए । बैठकमा आयोजक नै अनुपस्थित हुँदा बनेको अन्यौलताको अवस्थामा वडा नम्बर ४ का अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाको अवस्थाबारे रौतहटका सिडिओ हीरालाल रेग्मीलाई फोन गरेर जानकारी गराए ।
निर्वाचित भएदेखि नै विभिन्न आर्थिक विवादमा पर्दैआएका मेयर जयसवाल निलम्बित भएपछि निरक्षर महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर विकास बजेटमा अनियमितता गर्ने दाउमा रहेको वडा अध्यक्षहरुको भनाइ छ । उपसचिव प्रधानले मेयरउपमेयर निलम्बित भएको अवस्थामा नियमले जे भन्छ, त्यही कार्वान्वयन हुने बताउँछन् । उनले कसैको दबाब र प्रभावमा नपर्ने प्रतिवद्धता जनाए । उता मेयर जयसवालले नियमअनुसार कार्यबाहक मेयर बनाउन कार्यपालिकासँग स्वयम् अधिकार रहेको बताउँदै लागेको आरोपको खण्डन गरे ।
सिडिओ रेग्मीले कटहरिया नगरपालिकाका हकमा के हुने भन्नेबारे संघीय मामिला मन्त्रालयबाट हालसम्म कुनै निर्देशन नआएको बताउँदै नियमानुसार कार्यबाहक मेयर बनाइनुपर्ने बताए । कटहरिया नगरपालिकाका मेयर र उपमेयरसमेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका हुन् ।
कटहरिया–२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीतादेवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेश कुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा नम्बर ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिश बिक्रम साह, मनोज प्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साहलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी गरिएको छ ।






