
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाका बहुमत सदस्यको विश्वासको मत पाएका छन् । शनिबार मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत लिएकामा उनको पक्षमा ६७ जनाले मतदान गरे । प्रदेशसभा बैठकमा १ सय १ जना उपस्थिति रहेकामा उनका पक्षमा ६७ र विपक्षमा ३४ जना देखिएका हुन् ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई जनमतसहित नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले मतदान गरेको थियो । जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी नेपालले भने विपक्षमा मतदान गरे । मतदानमा राप्रपा अनुपस्थित थियो ।
मुख्यमन्त्री सिंहले राखेको विश्वास मतको प्रस्तावमा बोल्दै नेकपा एमालेका हरिनारायण महतोले मधेशका जनताको अपेक्षा पूरा गर्न यो सरकार गठन भएको बताउँदै मधेशीको आकांक्षा पूरा गर्न सरकार सफल हुने विश्वास व्यक्त गरे । उनले विगतको सरकारले धेरै नराम्रा काम गरेकाले अहिलेको सरकार निर्माणमा आफूहरुले सक्रियता देखाएको बताउँदै सरकारलाई साथ र सहयोग रहने बताए । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले मुलुकमा राजनीतिबाट जनतामा निरासा छाएको बताउँदै त्यो निरासालाई आशामा परिवर्तन गर्ने दायित्व राजनीतिक दलको काँधमा रहेको बताए । उनले यसका लागि प्रदेश सरकारले जनताको आकांक्षा र भरोसा जित्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले मधेश प्रदेशको सरकारले स्थायित्व पाओस् भन्ने चाहना आफ्नो पार्टीको रहेको बताए । स्थायित्व र विकासका लागि आफ्नो पार्टीको साथ र सहयोग रहने बताए ।
जनता समाजवादी पार्टीका सांसद मनिष सुमनले साढे तीन वर्षसम्म यस्तै अवस्थमा रहे सबै सांसद मन्त्री भइसक्ने बताए । उनले सतिश कुमार सिंहको विपक्षमा मत दिने बताए । उनले सरोजकुमार यादवको समयमा १४ पटक र अहिले तीनपटक मन्त्रिमण्डल हेरफेर भइसकेको बताए । यस्तै व्यवस्था रहे सबै मन्त्री बन्न पाउने उनले बताए । सुमनले मधेश सरकारको विपक्षमा रहे पनि आफूहरु सकारात्मक सहयोग गर्न तयार भएको बताए । उनले विकास, सुशासनका पक्षमा सधैँ रहने बताए ।
सुमनले जनमतले १७–१८ महिनादेखि गठबन्धनमा गडबड गर्दै आएको बताए । उनले गठबन्धनमा बारामा उपेन्द्र यादवलाई उम्मेदवार बनाएकामा त्यसको विरोधमा उम्मेदवार उठाएको बताए । उनले जनमतमा गठबन्धनको संस्कार नरहेको भन्दै राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा समेत आफ्नो उम्मेदवार दिएको बताए । उनले जनमतलाई गठबन्धनको संस्कार सिक्न सुझाव दिए ।
सुमनले प्रदेशसभाको हरेक कुर्सीमा जनताको कर लागेको भन्दै सात वर्षमा यस्तो अवस्था नदेखेको भन्दै यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने क्रममा भएको तोडफोडको घटनाको विरोध जनाए । सुमनले जनताले सबैलाई मिलेर सरकार चलाउने जनादेश दिएको बताए ।
जनमत पार्टीका महेशप्रसाद यादवले विपक्षी भएर पनि असल सहयोगी बन्न विपक्षी दलहरुलाई आग्रह गर्दै प्रदेशको अधिकारको लागि एकापसमा हातेमालो गरेर अगाडि जानुपर्ने बताए । उनले केही तत्वले लडाउने खेल गरिरहेको त्यस खेलबाट समेत बच्नुपर्ने आवश्यकता रहेको बताए । यादवले मधेशीको विकास र अधिकारको जनअपेक्षा पूरा गर्न वर्तमान सरकार गठन भएको बताउँदै त्यो अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतोले दुई ठूलो दलले संविधान संशोधनसहित राजनीतिक स्थायित्वका लागि गठबन्धन निर्माण गरेको बताउँदै आफूहरुले उठाउदै आएको संविधान संशोधनको मुद्दासमेत यस संविधान संशोधनमा समावेश हुन्छ कि भन्ने आशाका साथ सहभागी भएको बताए । उनले बजेट निर्माण गर्दा जसरी ह्याक भएको र त्यसप्रति सरकार गम्भीर नरहेको बताउँदै अविलम्ब छानबिन समिति गठन गर्न माग गरे । त्यसैगरी, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर लाल गोइतले धेरै बलिदानीपछि संविधान आएको बताउदै ठूलो दलको गठबन्धनले संविधान संकटमा पर्छ कि भन्ने आफूहरुमा आशंका रहेको जिकिर गरे ।
‘बजेट निर्माणमा त्रुटि भएको हो, ह्याक होइन’
मुख्यमन्त्री सतिश कुमार सिंहले आफूहरुले इमान्दारिताको राजनीति सुरुवात गरेको बताएका छन् । मधेश प्रदेश सभामा विश्वासको मत लिने क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै राजनीति केबल झुठ बोलेर मात्रै गर्न सकिन्छ भन्ने भाष्य तोड्न खोजेको बताउँदै इमान्दारिता र सत्य बोलेरसमेत राजनीति गर्न सकिन्छ भन्ने आधारमा हिँड्न खोजेको बताए ।
उनले बजेट निर्माणमा केही त्रुटि मात्रै भएको बताउँदै यो ह्याक भयो भन्ने हल्ला र अफवाह मात्रै भएको बताए । उनले भने, ‘बजेट समावेश गर्ने क्रममा निकै कम समय पाएकाले केही त्रुटि भएको छ, सच्याउनसमेत समय नपाएका कारण गल्ती भएको छ ।’ सिंहले गल्तीका विषयमा आन्तरिक रुपमा छानबिन भइरहेको र केही दिनमै सारा तथ्य बाहिर ल्याइने बताए । सिंहले जनतालाई अनुभूति हुने गरी काम गर्ने बताउँदै जनताले आउने दिनमा परिवर्तनको अनुभूति गर्ने बताए ।






