
मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मधेश प्रदेश सरकारमा सहभागी जनमत र एमाले बाहेकका अन्य दलका सबै ६ जना मन्त्रीलाई शनिबार बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सतिशकुमार सिंहले आज (शनिबार) विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गरेका हुन् ।
मधेश प्रदेश सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री थिए ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्री थिइन् । उनीहरु सबैलाई मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिनु अघि बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सिंहले उनीहरुलाई मन्त्री पदबाट राजिनामा दिन आग्रह गरेपनि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताएका छन् ।
गत जेष्ठ २५ गते ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मख्यमन्त्री नियुक्त भएका थिए । तर, केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते सत्ता सहकार्यको लागि सहमति बनेपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएका थिए । प्रदेशसभाबाट आज विश्वासको मत लिएपछि कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।






