
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिका–८ निवासी मेनुका खड्का आफ्नो नयाँ नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा केही दिनदेखि धाइरहेकी छन् । सबै कागजात पुग्दा पनि नागरिकता दिन प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा आलटाल गरिरहेको उनको आरोप छ । सबै प्रक्रिया र कागजात पुग्दा पनि अधिकृत खतिवडा कुनै न कुनै बाहाना खोजेर सेवाग्राहीलाई दिक्दार पारेका छन् । सेवाग्राही दिक्क भएको मौका छोपेर कार्यालयमा सक्रिय भएका ‘हाकिमका दलालहरु’ सेवाग्रहीहरुसँग काम छिटो गराइदिने भन्दै पैसाको बार्गेनिङ गर्ने गरेको उनको आरोप छ । ‘एक जना आएर मलाई भने यसरी नागरिकता बनाउन गाह्रो छ । केही पैसा खर्च गर्नुस् एकछिनमै नागरिकता बन्छ ।’, उनले भनिन्, ‘सरकारले हामीलाई यो एक थान नागरिकता बाहेका के नै दिएको छ र, अनि यो नागरिकता बनाउन पनि दलालमार्फत घुस दिनुपर्ने ।’
अहिले जिल्ला प्रशासन कार्यालय, पर्सामा नयाँ नागरिकता लिन दैनिक सयौँ युवाको भीड लाग्ने गरेको छ । वैदेशिक रोजगारीमा जान वा विभिन्न प्रायोजनका लागि नागरिकता लिन पुगेका युवाहरु त्यहाँको भीड र ढिलासुस्ती देखेर ‘सरकारको काम अहिले जाला घाम’ भन्ने उखानको अर्थ बुझिरहेका छन् ।
बुधबारदेखि नै नागरिकता बनाउन हैरानी खेपिरहेकी खड्का जस्तै त्यहाँ पुगेका अधिकांश युवाहरुको प्रश्न कागजात हुँदा पनि हाकिमले नागरिकता दिन किन ढिलाई गरिरहेका छन् भन्ने छ । खड्काको नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले निर्देशन दिँदा पनि प्रशासकीय अधिकृत खतिवडा बिहीबार कार्यालय समय सकिनु अघि नै कार्यकक्ष छोडेर ‘टाप’ कसे ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता बनाउन भइरहेका ढिलासुस्ती र सेवाग्राहीले पाइरहेका दुःखबारे मधेशदृष्टि दैनिकको प्रश्नमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अधिकृत खतिवडाका बारेमा अरुपनि केही गुनासो आएको बताए । उनले भने, ‘यस्ता थप केही गुनासोहरु आएका छन् । यो समस्याबारे बुझ्ँदै छु । यदि त्यस्तो हो भने कारवाही गर्छु ।’






