
मधेशदृष्टि
वीरगंज ।
आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले विगत १८ दिनदेखि निरन्तर काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिईरहेको छ । आईटी आर्मीले उठाउँदै आएको माग सम्बोधन गर्नुको साटो सरकार ठगहरुलाई संरक्षण गरिरहेको आरोप आन्दोलनकारीले लगाएका छन् । आजपाका महासचिव त्रिभुव साहले वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुको साटो उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले ठग एवम् माफियालाई संरक्षण दिईरहेको आरोप लगाए । ‘विदेशमा काम गर्न जाने युवाहरुसँग खुलेआम बिना रसिद लाखौँ रकम लिने ठग तथा माफियाहरुलाई सरकारले संरक्षण गरेको छ । वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुको साटो गृहमन्त्री रवि लामिाछाने र श्रममन्त्री डिपी अर्यालले ठग र माफियाहरुलाई संरक्षण दिइरहेका छन’ साहले भने, ‘जनताले नयाँ तथा युवालाई सांसद बनायो । उहाँहरु सरकारमा जिम्मेवार मन्त्रालय पनि पाउँनुभयो । तर वैदेशिक रोजगारका पीडितलाई न्याय दिनु भन्दा उहाँहरु सुन्दै नसुन्ने कारण लाखौं युवा अहिले पीडित छन् ।’
विगत १८ दिनदेखी निरन्तर वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिँदै आएको आईटी आर्मीले गत साता श्रममन्त्री आर्यालको विभाग अगाडी नै पुतला दहन गर्यो । वैदेशिक रोजगारका पीडितहरुको माग सम्बोधन नगरे भन्दै श्रममन्त्रीको पुतला दहन गरेपछि गृहमन्त्रालयले सो क्षेत्रमा प्रदर्शनमा रोक लगायो । तर पनि आईटी आर्मीले निरन्तर प्रदर्शन गर्दै आएको छ । वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका आईटी आर्मीका महिला नेतृ मिनादेवी साहले बिदेश जाने युवाहरुसँग बिना रसीद मोटो रकम ठगी गर्नेलाई कारवाही गर्नुको सट्टा सरकारले अल्टै आन्दोलनलाई दबाउन खोजेको बताईन् । यसमा गृहमन्त्री एवम् प्रधानमन्त्रीको समेत ध्यान जान आवश्यक रहेको उनले बताईन् । ‘यो श्रममन्त्री आफैँ म्यानपावर चलाउँदै आएको हो । अहिले मन्त्री भएपछि कमसेकम वैदेशिक रोजगारका पीडितहरुको माग सम्बोधन गर्नुपर्ने हो । तर दुर्भाग्य उहाँले पनि नसुने जस्तै गरेपछि हामीले उहाँको पुतला दहन गर्यौ’ साहले भनिन्, ‘सरकारले हाम्रो माग सम्बोधन नगरे यो भन्दा कडा आन्दोलन हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ ।’
आजपा महिला नेतृ रन्जु साहले वैदेशिक रोजगार क्षेत्रका भ्रष्ट अधिकारी तथा ठग म्यानपावर र ऐजेन्टलाई सरकारकै संरक्षण रहेको आरोप लगाईन् । अहिले सरकारसँग भ्रष्ट र ठगहरुको गहिरो दोस्ती एवम् सहकार्य रहेको पुष्टि हुँदै गएको उनको आरोप छ । वैदेशिक रोजगारको ठगी बारे सरकार यसरी नै मौन रहे आईटी आर्मीले कडा कदम चाल्ने उनले चेतावनी दिए । आन्दोलनमा सहभागि युवा नेता चन्द्रिकालाल साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको साहको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ । ‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गर्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने साहको जिकिर छ ।
पुराना दलहरुले समृद्धि ल्याउँन सकेन, भ्रष्टाचारीलाई कारवाही गरेनन् लगायतका आरोप नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरुले लगाउँने गरेका छन् । तर त्यही रास्वपाका उपसभापति समेत रहेका डिपि अर्याल अहिले श्रम मन्त्री हुँदा समेत वैदेशिक रोजगारी पीडितहरुले न्याय नपाउँनु भनेको दुखद बिषय भएको आईटी आर्मीका केन्द्रीय सदस्य कल्याण सुस्लिङ् मगरको भनाई रहेको छ । आईटी आर्मीका नेता राजनिश प्रसाद कुशवाहाले वैदेशिक रोजगारको क्षेत्रमा जताततै मनोमानी भईरहेकाले सर्वसधारण पीडित बनेको बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ कुशवाहाले भने ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण् साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग म्यानपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी म्यानपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ । बिदेश जाने युवाहरु सँग खुलेआम बिना रसीद लाखौ रकम लिने ठगहरुलाई कानुनको कटघेरामा ल्याऊन सरकार असक्षम देखिएकोले आईटी आर्मीको जारी आन्दोलनलाई अझ शसक्त बनाउँने उनले जनाएका छन् ।






