
मधेशदृष्टि
वीरगंज ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस खुला एवम् उदार अर्थतन्त्रका पक्षपोषक भएकाले कांग्रेस निजीक्षेत्रको संरक्षण, सम्वद्र्धन एवम् प्रवद्र्धनका लागि सदैव तत्पर रहेको बताएका छन् । वीरगंज उद्योग वाणिज्य संघले गरेको भेटघाटमा नेता कोइरालाले उद्योग, व्यापारसम्बन्धी समस्या, बैंकसम्बन्धी अपारदर्शी नीति एवम् कर, राजस्व, भन्सारसम्बन्धी नीतिगत जटिलता निरुपण गर्दै जाने बताए ।
उनले आउँदा दिनमा अर्थतन्त्रका साथै उद्योग, व्यापार र निजी क्षेत्रका आवाजलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउँदै उद्योगी व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक लिइएको बताए । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले पर्सा–बाराका उद्योग, व्यापारको खस्कँदो अवस्था, निजी क्षेत्रले भोगिरहेका प्रशासनिक एवम् प्रक्रियागत जटिलताबारे डा. कोइारालाको ध्यानाकर्षण गराएका थिए । उनले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अनेकानेक नियमनकारी निर्देशिका र नीतिगत जटिलताका साथै कर, राजस्व, भन्सारसम्बन्धी अपारदर्शी–अव्यवहारिक ऐननियमका कारण आर्थिक क्रियाकलाप निरन्तर खस्किरहेकोबारे कोइरालालाई अवगत गराउँदै नीतिगत समस्या समाधानका लागि आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय कुमार सरावगी, ओमप्रकाश सिकरिया, उपाध्यक्ष माधव राजपालले उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था र कर, भन्सार तथा राजस्वका विभिन्न समस्या समाधानका लागि कोइरालासँग धारणा राखेका थिए । वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
‘एमालेसँगको सहकार्य सभापतिको मात्र निर्णय होइन’
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको गठबन्धन शेरबहादुर देउवाको एक्लै निर्णयले नभएको बताएका छन् । नेपाली कांग्रेस पर्साले बुधबार वीरगंजमा गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनका अनुसार, पछिल्लो समय साना दलहरुले गठबन्धनका नाममा २ ठूला दललाई आजित बनाइसकेको थियो । यसरी चौतर्फी विरोध हुन थालेपछि मुलुकमा राजनीतिक स्थायित्व दिन कांग्रेसका सबैको सल्लाहमा विधिवत निर्णय गरेर एमालेसँग गठबन्धन गरिएको उनले सुनाए । उनका अनुसार, अब गठबन्धनले मूलतः संविधानमा निर्वाचन प्रणालीमा संशोधन गरेर राजनीतिक स्थायित्वतर्फ ध्यान दिनेछ । संविधान संशोधन गर्दा केही मूलभूत बुँदामा सुधार जरुरी रहेको उनको ठम्याइ छ । धेरै सुधार गर्न थालियो भने फेरि विवाद हुनसक्ने अवस्था आउने भएकाले त्यसतर्फ सचेत हुन उनको सुझाव छ । ‘निर्वाचन प्रणालीतर्फ समानुपातिकवालाको सिट हटाउनु पर्छ, तर उहाँहरुलाई राष्ट्रिय सभामा लैजानुपर्छ,’ उनले भने, ‘योसँगै अन्य केही बुँदामा विज्ञहरुसँग सल्लाह गरेर सुधार गर्नुपर्छ ।’
सबै दलहरुले अब देशमा पार्टी भन्दा माथि उठेर राष्ट्रलाई सम्झिनुपर्ने बेला आएको उनको तर्क छ । गिरिजाबाबुले भन्नु भएको सहमति, सहकार्य र एकताअनुसार सबैले काम गरेर अगाडि बढे देशमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, अजय चौरसिया, अनिल रुंगटा, प्रदेश सांसद श्याम पटेल, जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीसहितको सहभागिता थियो ।






