
मधेशदृष्टि
वीरगंज ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ६ महिनाको अवधिमा पर्सा जिल्लामा मानवअधिकार उल्लंघनसम्बन्धी १४ वटा घटना भएको जानकारी गराएको छ । मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व इन्सेक पर्साले गरेको अर्धवार्षिक समिक्षामा उक्त घटनाको बारेमा जानकारी गराएको हो । शनिबार वीरगंजमा आयोजित अर्धवार्षिक समिक्षा कार्यक्रममा इन्सेकले ६ महिनाको अवधिमा पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको अभिलेख सार्वजनिक गरेको हो ।
इन्सेक पर्साले प्रस्तुत गरेको प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट र दुव्र्यवहार, प्रहरीको कुटपिटबाट इ–रिक्सा चालक घाईते, म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग गरेको आरोपमा प्रवन्ध निर्देशक र डाक्टर गिरफ्तार, छोरी जन्मिएपछि अस्पतालमै छोडेर आमा फरार भएको घटनालाई अभिलेख गरेको छ ।
त्यसैगरी, दाईजोको विषयमा विवाद हुँदा बेहुुलासहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको घटना विद्यार्थीमाथि भएको कुटपिटको घटनामा आरोपित शिक्षक गिरफ्तार, बालकलाई घर निर्माणको काममा लगाएको आरोपित विद्यालयका सञ्चालिका विरुद्ध उजुरी, ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार, पत्रकारमाथि प्रहरीद्वारा भएको दुव्र्यवहारलगायतका घटनाहरुलाई इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
इन्सेक पर्साको अर्धवार्षिक समिक्षा कार्यक्रममा सहभागी वक्ताहरुले मानव अधिकार उल्लंघनसम्बन्धी घटनाहरुको यथार्थ विवरण आउन नसकेको बताए । इन्सेक पर्साले पनि जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मानव अधिकार उल्लंघनका घटनाहरुको विषय खासै अभिलेख उपलब्ध हुन नसकेको स्वीकार गरेको छ ।
दलित अधिकारकर्मी बृजलाल पासवानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, रेडियो वीरगंज, टिभी वीरगंज र मधेशदृष्टि राष्ट्रिय दैनिकका कार्यकारी अध्यक्ष ध्रुव साहलगायत विभिन्न सञ्चारकर्मी र मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।






