
मधेशदृष्टि
सर्लाही ।
बाराबाट निराहार व्रत बसेर चर्चामा आएका तपस्वी भनिएका रामबहादुर बम्जन बाल यौनदुराचार कसुरमा दोषी ठहरिएका छन् । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो । अदालतका स्रेस्तेदार सदन अधिकारीले बम्जनलाई असार १७ गते सजाय निर्धारण हुने बताए ।
रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहर भएका छन् । ज्ञानकुमार र जितबहादुरलाई मतियारका रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो । बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २०८० पुस २४ गते काठमाडौँबाट पक्राउ गरेर सर्लाही ल्याएको थियो । २०७६ सालदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जन २०८० सालमा मात्रै पक्राउ परेका थिए । सर्लाही अदालतले २०८० पुस २७ गते बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धुलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरीको अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी परेको थियो ।
२०७६ भदौ ३० गते ललितपुरमा पत्रकार सम्मेलन गर्दै १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेपछि बम्जन अनुसन्धानको घेरामा परेका थिए । प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा मारेको थियो । त्यहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका छ । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो । बम्जन जोडिएको अरु मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






